पुँजी बढाउन एफपिओ जारी गर्ने बिपिसीले किन दियो नगद लाभांश ?



काठमाडौं । कुनैपनि कम्पनीले लाभांश रकम बोनस सेयर दिने वा नगद लाभांश दिने त्यो उसको आन्तरिक कुरा हो ।

बैंक तथा बीमा कम्पनीको हकमा पुँजी बृद्धिको नीति लिदा नगद लाभांश बाड्न रोक लगाइएको हुन्छ ।
जलविद्युत् कम्पनीमा नियमन छैन । यसको प्राविधिक विषय विद्युत् विकास विभागले हेरेपनि सेयरको विषय धितोपत्र बोर्डले हेर्ने हो ।

गत साता लगानीकर्तासँगको भेटमा अर्थमन्त्री डा युवराज खतिवडाले जलविद्युत् कम्पनीको सेयरको विषयको नियमन धितोपत्र बोर्डले गर्ने बताएका थिए ।

सार्वजनिक निष्कासन(आइपिओ) जारी नगरेको कम्पनी बुटवल पावरलाई धितोपत्र बोर्डले एफपिओ निष्कासनको अनुमति दिएको छ । बुटवल पावरले गत माघ १५ देखि ४० लाख ८१ हजार कित्ता सेयर प्रतिकित्ता ५०१ को दरले एफपिओ जारी गरेको थियो ।

तर,यो सेयर भने साधारण लगानीकर्ताले किनेनन् । त्यसपछि प्रत्याभुति गर्ने संस्थाले किन्नुपर्यो ।
एफपिओ जारी गर्नु अगाडि प्रतिकित्ता ६ सयभन्दा बढी रहेको बुटवल पावरको सेयर एफपिओ बिक्रीको प्रक्रिया पुरा नहुँदै ५ सय बाट ओरालो लागेको थियो ।

नयाँ जलविद्युत् आयोजना बनाउनको लागि थप सार्वजनिक सेयर निष्कासन गरेको बुटवल पावरले एफपिओ बाँडफाँडपछि भने अघिल्लो वर्षको नाफाबाट २० प्रतिशत नगद लाभांश दिएको छ । यसले बुटवल पावरको नियतमा शंका गर्ने ठाउँ दिएको छ ।

‘पुँजी पुगेन भनेर एफपिओ निकाल्ने,एफपिओ बिक्री प्रक्रिया सकिनासाथ नगद लाभांश बाड्ने,यो साना लगानीकर्तालाई ठक्ने काम हो’,एक विश्लेषकले भने ।

उनले नगद लाभांश धितोपत्र बोर्डले रोक्नुपर्ने सुझाव दिन्छन् । नियामक निकाय नहुँने जलविद्युत् क्षेत्रमा यस्तो रोकिएको रेकर्ड भने छैन ।

बुटवल पावरको सेयर मुल्य नगद लाभांशको घोषणसँगै भने अत्याधिक घटेको छ । दुईदिन अगाडि सेयर मुल्य बढेको बेला प्रतिकित्ता ५ सयसम्म पुगेको बुटवल पावरको सेयर ४६० रुपैयाँमा झरेको छ ।
बुटवल पावरले एफपिओमा सेयर पाउनेलाईपनि दिने गरेर सोमबार २० प्रतिशत नगद लाभांशको घोषणा गरेको थियो ।


क्लिकमान्डु