नगरपालिकाको बजेटले नपुगेपछि चालककै पहलमा बन्यो नमूना सडक



बेनी, म्याग्दी । ‘अचानोको पीडा खुकुरीलाई थाहा हुँदैन’ भन्ने नेपाली उखानै छ । दैनिक आवतजावत गर्ने सडकमा भोगेको दुःखलाई बुझ्दै म्याग्दीका एक चालकले आफूलाई अचानो सम्झिएर खुकुरीजस्तै जोखिमपूर्ण सडकलाई मर्मत तथा स्तरोन्नति गरी नमूना बनाएका छन् ।

दैनिक यात्रु लिएर गाउँसम्म पुग्ने सडकको मर्मत तथा स्तरोन्नतिको जिम्मा पाएपछि भकिम्लीका एक युवाले दुई महिनासम्म गाडी चलाउने पेशालाई छोडेर सडक स्तरोन्नति गरेका हुन् । बेनी नगरपालिका–३ भकिम्ली जोड्ने सडकमा नगरपालिकाबाट विनियोजित बजेटबाहेक पनि स्थानीयको जनश्रमदानबाट सडकका जोखिमपूर्ण ठाउँको मर्मत तथा स्तरोन्नति गरी नमूना बनाइएको छ ।

सदरमुकाम बेनी नजिक भए पनि जिल्लाकै जोखिमपूर्ण घुम्टी, साँघुरो तथा भिरालो सडकका कारण अति आवश्यकबाहेक पैदलयात्रा गरी सदरमुकाम आउने भकिम्लीबासीको समस्यालाई समाधान गर्न सडक निर्माण उपभोक्ता समितिको जिम्मेवारी लिएर बस चालक समेत रहेका भानुभक्त थापाले जोखिमपूर्ण सडकमा सहजै आवतजावत गर्ने बनाएका हुन् ।

‘बस चालक भएर यात्रुलाई सम्झिएर सडक मर्मतमा समय दिएको थिएँ, जहाँ यात्रु यात्रामा त्रसित हुन्छन्, त्यहाँ मैले धेरै समय दिएर मर्मत गर्न लगाएँ,’ थापाले भने ।

बेनी–बगरफाँट–दुधेखोला हँुदै भकिम्ली जोड्ने सडक मर्मत तथा स्तरोन्नतिमा नगरपालिकाले विनियोजन गरेको २४ लाख १२ हजार रुपैयाँ बजेट अपुग भएपछि जोखिमपूर्ण सडक मर्मतमा स्थानीयवासीले समेत पाँच लाख रुपैयाँ बराबरको जनश्रमदान गरेको उनले बताए ।

‘जोखिमपूर्ण सडक मर्मतमा स्थानीयले दैनिक सहयोग गर्नुभयो, सडकलाई जोखिममुक्त बनाउन प्राविधिक सहयोगलाई पनि ध्यान दिइयो,’ थापाले भने ।

उनले विनियोजित बजेटबाट अति जोखिमपूर्ण मानिएको आपाँरुखमा ८४ मिटर ढलान, विभिन्न छ ठाउँमा तारजाली, घुम्ती सुधार, ग्रेड मिलाउन, साँघुरो र भिरालो जमिनमा पक्की वालका साथै सडक फराकिलो बनाइएको बताए ।

जिल्लाका धेरै सडकमा मर्मत तथा स्तरोन्नतिलगत्तै बिल पेस गरेपछि बेवास्ता गर्ने गरिए पनि भकिम्ली जोड्ने सडकमा स्थानीयले दैनिक ढलान र वालमा आफ्नै घरजस्तै रेखदेख र पानी हाल्ने गरेका थिए ।

दुधेखोला–भकिम्ली सडक निर्माण आयोजनाकी सचिव रुपा क्षेत्रीले सडक मर्मतमा स्थानीयले आफ्नो घरायसी कामसमेत छोडेको थापाको भनाइ छ । उनका अनुसार इस्टिमेटभन्दा धेरै तारजाली तथा चालकको आत्मबल बढाउने गरी जोखिमपूर्ण ठाउँमा रडकोे प्रयोग गरी वाल लगाइएको छ ।

भकिम्लीमा हुने विभिन्न राजनीतिक तथा सामाजिक कार्यका लागि पुग्ने संघसंस्थाले समेत पैदलयात्रा गर्न रुचाउनुको कारण जोखिमपूर्ण सडक भएको बताउँदै उपभोक्ता समितिले बजेटलाई सदुपयोग गर्दै थप काम गरेको वडाध्यक्ष पदम पुनले बताए ।

‘अनुगमनमा आएका जनप्रतिनिधि समेत सडकको अवस्था देखेर दंग परेका छन् । बजेटको पूर्णरुपमा सदुपयोग भएको छ,’ पुनले भने ।

उनले सडकमा दैनिक आवतजावत गर्ने चालक नै अध्यक्ष भएपछि सडकले नयाँ रुप लिएको बताए । करीब १४ किलोमिटरको सडकबाट भकिम्लीका ६ सय घरधुरी लाभान्वित हुनेछन् । विसं २०६६ मा ट्याक खोलिएको सडक निर्माणको क्रममा समेत स्थानीयले जनश्रमदानसँगै आफ्नो व्यक्तिगत लालपूर्जासमेत धितो राखेर ऋण लिएर सडक सम्पन्न गरेका थिए ।

सडक निर्माणसँगै स्थानीयलाई आवतजावतसँगै पर्यटकीयस्थल स्वर्गाआश्रम, बेलढुंगा र छिमेकी जिल्ला बागलुङको काठेखोला गाउँपालिकाको धम्जालगायत छिमेकी मंगला गाउँपालिकाको बरंजालगायतका क्षेत्रका बासिन्दाले समेत प्रयोग गर्ने गरेका छ ।


क्लिकमान्डु