नौ महिनामै उद्योगमा आयो ३५ अर्बको एफडिआइ




काठमाडौं । चालु आर्थिक बर्षमा प्रत्येक्ष बैदेशिक लगानी उत्साहप्रद रुपमा भित्रिएको छ । नयाँ संविधान बने लगत्तै सरकारले लगानी सम्मेलन, आर्थिक सम्मेलन र विभिन्न राष्ट्रिय अन्तराष्ट्रि मन्चहरुमा गरेको आव्हानले नेपालमा प्रत्येक्ष विदेशी लगानी (एफडिआइ) बृद्धि भएको हो ।

उद्योग विभागले दिएको जानकारी अनुसार चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा औद्योगिक क्षेत्रमा ३८ अर्ब ४ करोड १३ लाख रुपैयाँ बराबरका विदेशी लगानीका उद्योग थपिएका छन् । यसमध्ये विदेशी लगानी नै भने ३४ अर्ब ९१ करोड रुपैयाँ छ । बाँकी रकम नेपाली साझेदारको लगानी हो ।

संख्यात्मक रुपमा बिदेशी लगानीकर्ताको आकर्षणको पहिलोमा सेवा क्षेत्र देखिएको छ । चालु आर्थिक बर्षको नौ महिनामा सेवा क्षेत्रमा ६२ वटा नयाँ परियोजना आएका छन् । यस्तै पर्यटन क्षेत्रमा ६० वटा, उत्पादनशील क्षेत्रमा ३९ वटा, सुचना प्रविधि क्षेत्रमा १७ वटा, कृषि तथा बन क्षेत्रमा आधारित ११ वटा उर्जा क्षेत्रमा ४ वटा र खनिज क्षेत्रमा एउटा परियोजना गरी १९४ वटा परियोजना थपिएका हुन् ।

लगानी रकमको आधारमा सबैभन्दा बढी उर्जा क्षेत्रमा लगानी भित्रिएको छ । उर्जा क्षेत्रका परियोजनामा २२ अर्ब ८ करोड रुपैयाँ बिदेशी लगानीकर्ताले लगानी गर्न उद्योग विभागबाट अनुमति लिएका हुन् ।

यस्तै उत्पादनशील क्षेत्रका उद्योगमा ५ अर्ब ८५ करोड, खनिजमा २ अर्ब, कृषि था बन क्षेत्रमा १ अर्ब ८६ करोड, सुचना प्रविधि क्षेत्रमा २६ करोड, सेवा क्षेत्रमा १ अर्ब २७ करोड र पर्यटन क्षेत्रमा १ अर्ब ५७ करोड रुपैयाँ गरी ३४ अर्ब ९१ करोड रुपैयाँ बिदेशी लगानी भित्रिएको हो । यस्तो लगानीमा नेपाली साझेदारले गर्ने लगानी जोडिएको छैन । नेपाली साझेदारले गर्ने लगानी समेत जोड्दा ३८ अर्ब ४ करोड रुपैयाँ हुन आउँछ ।

विदेशी लगानीमा आउँन लागेका उद्योगले ७ हजार ५४१ जनालाई प्रत्येक्ष रोजगारी दिने उद्योग विभागको भनाइ छ । यसमध्ये सबैभन्दा बढी रोजगारी उत्पादनमुलक उद्योगले प्रदान गर्नेछन् ।

उत्पादनमुलक उद्योगमा २२ सय ५८ जनाले प्रत्येक्ष रोजगारी पाउने छन् । यस्तै सेवा क्षेत्रमा १९ सय ७२ जनाले, पर्यटन क्षेत्रमा १८ सय १० जनाले, खनिजमा ४०० जनाले, सुचना प्रविधि क्षेत्रमा ४५६ जनाले, उर्जा क्षेत्रमा ३६० जनाले र कृषि तथा बन क्षेत्रका उद्योगमा २८५ जनाले प्रत्येक्ष रोजगारी पाउने छन् ।

नेपालमा प्रत्येक बर्ष करिब ४ लाख नयाँ श्रमशक्ति बजार आउने अनुमान गरिएको छ । तर, यसको सानो हिस्सालाई मात्रै सरकारी क्षेत्रले रोजगारी दिने गरेको छ । प्रत्येक बर्ष सिर्जना हुने नयाँ रोजगारीका अबसरका करिब ८० प्रतिशत जति योगदान निजी क्षेत्रको हुने गरेको बताइएको छ । निजी र सरकारी क्षेत्रले समेत पर्याप्त रोजगारी प्रदान गर्न नसकेको कारण बर्सेनि लाखौं नेपाली रोजगारीको लागि विदेश जाने गरेका छन् । अहिले करिब ४० लाख नेपाली बैदेशिक रोजगारीमा रहेको अनुमान गरिएको छ ।


क्लिकमान्डु