‘कर्मचारीले घुष मागे हटलाइनमा सम्पर्क गर्नुस’



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले गाडी बिक्रेताले कर घटाउने माग राख्ने हुँदा अर्थमन्त्रालयका सचिवद्वय कार्यक्रममा उपस्थित नभएको बताएका छन् ।

नाडा अटोमोबाइल्स एशोसियनको साधारणसभामा बोल्दै अर्थमन्त्री खतिवडाले कर घटाउने माग नराख्न व्यवसायी आग्रह गरे ।

‘कर घटाउने माग राख्नुहुन्छ होला भनेर मेरा सचिवहरु कार्यक्रममा आएनन्’,खतिवडाले भने,‘म आए, आगामी दिनमा कार्यक्रममा सचिवहरुपनि आउने वातावरण बनाउनुहोस्।’

उनले बढ्दो गाडी आयातले काठमाडौंमा ट्राफिक व्यवस्थापन गर्न कठिनाई भएको बताउदै व्यवसायीलाई पनि काठमाडौंको सडक जाम देख्दा धेरै गाडी देखिएको भान हुनुपर्ने बताए ।

उनले कतिसम्मको गाडीलाई आवश्यक भन्ने र कतिसम्मको गाडीलाई बिलासी भन्ने कुरा सरकारले मुल्यांकन गर्न लागेको जानकारी दिए ।

‘हामीसँग अटोको माग अत्याधिक छ । देशमा उत्पादन गर्नेतर्फ लाग्नुहोस् सरकार सहयोग गर्न तयार छ’,अर्थमन्त्री खतिवडाले भने । उनले गाडी बिक्रेतालाई गाडी ल्याएर बेच्ने मात्र काम नगरेर उद्योग र उत्पादनसँगपनि जोडिन सुझाव दिए ।

व्यवसायी इमान्दार भएसम्म सरकारी कर्मचारीले केहीपनि नगर्ने भन्दै अर्थमन्त्रालयका कर्मचारीले घुस मागेमा सिधै मन्त्रालयको हटलाइनमा उजुरी गर्न व्यवसायीलाई आग्रह गरे ।

उनले खुला नीतिको फाइदा लिएर अनावश्यक वस्तु आयात भएको भन्दै त्यसलाई रोक्ने बताए । सरकारले सुरक्षित सहरी यातायात र ठूला सवारीलाई विद्युतिय बनाउने काम गरेको भन्दै ठूला सवारीलाई विद्युतीयमा चलाउन प्रोत्साहनको नीति ल्याइने बताए ।

कार्यक्रममा उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले अटोमोबाइल्सले मोबिलिटी बढाउने भन्दै उत्पादन मुलक भएको बताए ।

नाडाका निवर्तमान अध्यक्ष अन्जन श्रेष्ठले डाउनपेमेन्टको नीति परिवर्तन गर्न माग गरे । अहिले ६५ प्रतिशत रहेको डाउनपेमेन्टलाई ९० प्रतिशत पुर्याउनुपर्ने उनको भनाई छ ।


क्लिकमान्डु