‘पुँजी बजारले अर्थतन्त्रको प्रतिनिधित्व गरेन’




काठमाडौं । अर्थसचिब राजन खनालले पुँजी बजार र आर्थिक क्रियाकलापले समग्र अर्थतन्त्रको प्रतिनिधित्व गर्न नसकेको बताएका छन् । सोमबार पदबहाली गर्दै सचिब खनालले यस्तो बताएका हुन् ।

‘पूँजी बजार र आर्थिक क्रियाकलापले समग्र अर्थतन्त्रलाई प्रतिनिधित्व गर्नु पर्नेमा सो हुन सकेको छैन, पूँजी वजारमा भएको लगानीलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न चाहिने पूँजीको रुपमा विकास गर्नु पर्ने हुन्छ, यसका लागि पनि पूँजी वजारको नियमन गर्ने निकायले प्रभावकारी रुपमा आफ्नो भूमिका निर्वाह गर्नु पर्छ,’ पदबहाली कार्यक्रममा सरोकारवाला निकायका प्रमुखलाई निर्देशन दिदै सचिब खनालले भने ।

खनाललाई मन्त्रिपरिषदको चैत २० गतेको निर्णयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट अर्थमन्त्रालयमा सरुवा गरिएको थियो । अख्तियार जानुअघि उनी राजस्व सचिबको रुपमा अर्थमन्त्रालयमै थिए ।

उनले मुलुकको अर्थतन्त्र चुनौतिपूर्ण अवस्थामा रहेकोले समृद्ध नेपाल तथा सुखी नेपाली भन्ने सरकारको नारालाई सफल वनाउन सवैले सक्रिय, निष्ठापूर्वक र कुनै पनि किसिमको मोलाहिजा नराखी काम गर्नु पर्नेमा जोड दिए ।

आगामी आर्थिक बर्षको बजेट तर्जुमा गर्ने कार्यमा केही ढिलो हुन गएकोले बजेट तर्जुमाको काममा कुनै पनि खालको ढिलासुस्ती नगरी काममा लाग्न पनि सचिव खनालले निर्देशन दिए ।

सरकारको कोष मजवुद वनाउन राजस्व परिचालनलाई प्रभावकारी बनाउने, राजस्व चुहावट नियन्त्रण गर्ने, बढ्दै गएको अनौपचारिक अर्थतन्त्रलाई प्रभावकारी रुपमा नियमन गर्ने, सार्वजनिक खर्चमा देखिएको आर्थिक अनियमितता, अनुशासनहिनतामा कडाई गर्ने, अनावश्यक विदेश भ्रमणलाई नियन्त्रण गर्ने र सार्वजनिक संस्थानको लगानीलाई उत्पादनमूलक वनाउन सार्वजनिक संस्थान सञ्चालनको मापदण्ड निर्धारण गरी लागू गर्नु पर्ने कुरामा पनि उनले जोड दिए ।

‘समष्टिगत आर्थिक परिसूचकहरु सोचे मुताविक हाशिल हुन सकेका छैनन्, व्यापारघाटा वढ्दै गएको छ, सरकारी कोषको अवस्था मजवुद हुन सकेको छैन,’ उनले भने ।

सचिब खनालले मुलुक संघीय संरचनामा रुपान्तरण भईसकेको सन्दर्भमा नागरिकको वढ्दो अपेक्षाहरुलाई सम्वोधन गर्न वढी भन्दा वढी स्रोत परिचालन गर्नु पर्ने आवश्यकता रहेको औल्याए । स्थानीय तहको क्षमता अभिवृद्धि गर्न पनि पर्याप्त स्रोत जुटाउनु पर्ने भन्दै उनले बजेट भन्दा वाहिरको स्रोतलाई बजेट भित्र नै समावेश गरी काम गर्ने उनको भनाइ छ । सरकारको खर्चको भारलाई कम गर्न योगदानमा आधारित पेन्सन प्रणाली सम्वन्धी कानूनी व्यवस्थालाई लागू गर्नु पर्ने उनको भनाइ छ ।

सचिव खनालले भ्रष्टाचारमा शुन्य सहनशीलता अवलम्वन गर्ने, सवै कर्मचारीले पारदर्शी, उत्तरदायी, जिम्मेवार र नैतिकवान भई कार्य सम्पादन गर्ने, आफ्नो सेवा सुविधा भन्दा पनि मुलुक र नागरिकको हितलाई केन्द्रमा राखी काम गर्ने, कुनै पनि कर्मचारीले व्यवहार, शैली, स्वभावबाट अशुद्धताको गन्ध आउने गरी काम नगर्न पनि उनको निर्देशन छ ।

कार्यक्रममा राजस्व सचिव शिशिर कुमार ढुङ्गानाले सचिव खनाललाई स्वागत गरेका थिए भने अर्थ मन्त्रालय मातहतका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति थियो ।


क्लिकमान्डु