ओलीको भारत भ्रमणः बिरगन्जको एकिकृत भन्सार जाँच चौकीको उद्घाटन, पेट्रोलियम पाइपलाइनको शिलान्यास




काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा बिरगन्जको एकिकृत भन्सार जाँच चौकीको उद्घाटन र अमलेखगन्ज मोतिहारी पेट्रोलियम पाइप लाइनको शिलान्यास भएको छ ।

नेपालका प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोलीले शनिबार दिल्लीको हैदराबाद हाउसबाट स्वीच थिचेर संयुक्त रुपमा पेट्रोलियम पाइपलाइनको शिलान्यास गरेका हुन् ।
नेपाल सरकारले राष्ट्रिय प्राथमिकताको आयोजना घोषणा गरेर अघि बढाएको पेट्रोलियम पाइपलाइनको काम सुरू गर्न ढिलाइ भएको थियो । भारतसँग सम्झौता सम्पन्न भएको दुई वर्षभन्दा लामो समय वितिसक्दा यो आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन भइसकेको छैन ।

नेपाल सरकारले २०७२ को भदौ ७ मा नै पेट्रोलियम पाइपलाइन निर्माणका लागि सम्झौता गरेको थियो । निर्माण सुरू भएको भएको ३० महिनामा उक्त परियोजना सम्पन्न हुने लक्ष्य राखिएको छ ।

पेट्रोलियम पाइपलाइनको लम्बाई झण्डै ६९ किलोमिटर हुनेछ ।

पाइपलाइन निर्माणको खर्च भने भारतले नै व्यहोर्नेछ ।

पाइपलाइन बने इन्धन ढुवानीबापत लाग्ने वाषिर्क करीव एक अर्ब रुपैयाँ बराबरको ट्यांकर ढुवानी र जनशक्ति खर्च जोखिने विश्वास नेपाली पक्षको छ । पाइपलाइनबाट प्रतिघण्टा दुई लाख लिटरसम्म इन्धन अमलेखगञ्ज डिपोमा आपूर्ति गर्न सकिने बताइएको छ ।

यस्तै दुबै देशका प्रधानमन्त्रीले नेपाल भारत सीमामा बनाइएको वीरगञ्जको एकीकृत भन्सार जाँच चौकीको उद्घाटन गरेका छन् ।

भारत सरकारले एक अर्ब ३९ करोड रुपैयाँ लगानीमा यो आईसीपी निर्माण गरेको हो ।

दुई मुलुकको सीमामा भन्सारसँग सम्बन्धित सबै सुविधा एकै ठाउँमा उपलब्ध गराउने अवधारणा सहित यो जाँच चौकी बनाइएको हो ।

यो एकिकृत भन्सार जाँच चौकीमा अध्यागमन, भन्सार, सुरक्षा, अतिरिक्त गोदाम, बैंक, होटेल, पशु र वनस्पति क्वारेन्टाइन, प्रयोगशाला, खाद्य प्रविधि र गुण नियन्त्रण कार्यालय, पार्किङलगायत सुविधा एउटै कम्प्लेक्सभित्र रहन्छन् ।

सन् २०११ देखि निर्माण शुरु भएको सो जाँच चौकीको काम प्रारम्भिक सम्झौताअनुसार अक्टोबर २०१३ मा पूरा भइसक्नुपर्ने थियो ।


क्लिकमान्डु