काँग्रेसले सुरु गरेको आर्थिक क्रान्ति कम्युनिष्टले अवलम्बन गरेः डा.महत



हेटौंडा । पूर्व अर्थमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले निर्वाचनमा देशैभर पराजय व्यहोरे पनि काँग्रेसी नेता कार्यकर्ता हतोत्साही हुन नपर्ने बताएका छन् ।

नेपाली काँग्रेस हेटौंडा उपमहानगरपालिका १२ र १३ को संयुक्त आयोजनामा नववर्ष २०७५ को शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेलालाई शुक्रबार संवोधन गर्दै प्रमुख अतिथि डा. महतले देशैभर निर्वाचनमा प्राविधिक कारणवस काँग्रेसको हार भएपनि सफलतापूर्वक निर्वाचन सम्पन्न गराएर लोकतन्त्रको रक्षा गरेको बताए ।

निर्वाचनमा पार्टीको व्यवस्थापनमा कमीकमजोरी रहेको स्वीकार्दै डा। महतले अहिलेपनि काँग्रेसको मत संख्या एमालेको भन्दा बढी रहेको बताउँदै काँग्रेसी कार्यकर्ताहरु विकास निर्माण र जनताको सुखदुःखमा सधैं लागिरहने बताए ।

नेता डा. महतले नेपालको ईतिहासमा सामाजिक र आर्थिक क्रान्तिको सुरुवात काँग्रेसले गरेको र अहिले त्यही नीति कम्युनिष्टहरुले अवलम्बन गरेको बताए। बाम गठबन्धनका अर्थमन्त्रीले गलत श्वेतपत्र जारी गरेको भन्दै अहिलेपनि २ सय ८१ अरब भन्दाबढी रकम बैंकमा रहेको बताए ।

त्यस्तै केन्द्रीय सदस्य श्याम घिमिरेले बाम गठबन्धनलाई अझैपनि अन्तराष्ट्रिय शक्तिहरुले पत्याउन नसकेको बताए । पार्टी र सत्ता संचालनमा काँग्रेसले कमीकमजोरी गरेकै कारण हार व्यहोरेको भन्दै घिमिरेले अब काँग्रेस सुध्रिएर नयाँ शिराबाट पार्टी अगाडी बढ्ने बताए ।


क्लिकमान्डु