गैरआवासीय नेपालीसंघले अक्टोबरमा विशेषज्ञ सम्मेलन र विधानसभा गर्ने




काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी अक्टोबर महिनामा विज्ञ सम्मेलन र विधानसभा आयोजना गर्ने भएको छ । नेपालको आर्थिक विकासमा विदेशमा रहेका नेपालीबाट सीप, पुँजी र प्रविधि भित्र्याउन विज्ञ सम्मेलन र संघको विधान परिवर्तन गरी समय सापेक्ष बनाउन विधानसभा आयोजना गर्न लागिएको हो ।

संघले शुक्रबार पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको छ । संघका अनुसार आगामी अक्टोबर महिनाको १२ र १३ गते काठमाडौंमा विशेषज्ञ सम्मेलन आयोजना हुनेछ । यस्तै अक्टोबर १४ तारिकमा विधानसभा आयोजना हुनेछ ।

संघले आफ्नो स्थापनाकालदेखि नै विदेशमा रहेका नेपालीहरुले आर्जन गरेको ज्ञान, सीप, प्रविधि एवं पुँजीलाई नेपालको दिगो विकासमा प्रयोग गर्न समय सापेक्ष नीतिगत पहलको प्रयास गर्दै आएको छ । विदेशमा रहेका नेपालीहरुले आफ्नो मिहिनेतले ज्ञान र सीपको प्रयोग गरी त्यहाँको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरिरहेका छन् । त्यस्तो सीपको प्रयोग नेपालको रुपान्तरणको लागि पनि हुन सक्ने प्रचुर सम्भावना रहेकोले नेपालमै विशेषज्ञ सम्मेलन गर्न लागिएको संघले जानकारी दिएको छ ।

संघको पहलमा नेपालमा पुँजी लगानी भित्र्याउन केही सफलता हासिल भए पनि विदेशमा रहेका नेपालीहरुको ज्ञान सीपलाई नेपालको विकास एवं समृद्धिका लागि प्रयोगमा ल्याउन खासै सफलता प्राप्त भएको छैन । यही सन्दर्भमा संघले विदेशमा बस्ने नेपालीहरुको ज्ञान सीपको प्रयोगका लागि पहल गर्न यस्तो सम्मेलन आयोजना गर्न लागेको हो ।

मुलुकमा नयाँ संविधान अन्तर्गत निर्वाचन सम्पन्न भई ठूलो बहुमतका साथ नयाँ सरकारले मुलुकको सत्ता सम्हालिसकेकोले आर्थिक विकासले समेत प्राथमिकता पाउने अपेक्षा संघको छ । गैरआवासीय नेपाली विज्ञहरु, नेपालमा रहेका विज्ञहरु र नेपालस“ग जोडिएका विदेशी विज्ञहरुलाई एकै थलोमा ल्याउनका लागि हरेक २ वर्षमा काठमाडौंमा एक विशेषज्ञ सम्मेलन गर्ने तय भए अनुसार गैरआवासीय नेपाली दिवस २०१८ को अवसर पारेर यस्तो सम्मेलन आयोजना गर्न लागिएको हो ।

सम्मेलनको तयारीका लागि संघका अध्यक्ष, पूर्वअध्यक्ष एवं पदाधिकारीहरुले सरकार, सरोकारवाला निकायहरु एवं विज्ञहरु र नेपाल बाहिर रहेका विज्ञ तथा प्राज्ञिक संस्थाहरुस“ग भेट गरी सम्मेलनका बारेमा जानकारी दिनुका साथै सहकार्य र सहभागीताका लागि आग्रह समेत गरिसकेका छन् ।

संघका पूर्वअध्यक्ष तथा पदाधिकारीहरुले स्वास्थ्य, शिक्षा, पूर्वाधार तथा सहरी विकास, कृषि तथा खाद्य सुरक्षा, श्रम तथा वैदेशिक रोजगार, लगानी तथा आर्थिक, वातावरण तथा उर्जा, विज्ञान तथा प्रविधि, सुशासन लगायतका विषयलाई नीतिगत तथा विषयगत रुपमा प्रस्तुत गर्ने गरी छलफल गरेका हुन् ।

सम्मेलनको तयारीकै क्रममा संघको प्रतिनिधिमण्डलले अर्थमन्त्री, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, विश्वविद्यालय, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान जस्ता सरोकारवाला, विज्ञ तथा प्रतिनिधिहरु एवं नेतृत्वसँग छलफल एवं अन्तत्र्रिmया गरेको थियो । भेटका क्रममा सरोकारवाला निकायका प्रमुख तथा विज्ञहरुले आवश्यक सहयोग गर्ने र आश्वासन दिएको संघले जानकारी दिएको छ ।

यस्तै संघको संरचनामा समय–सापेक्ष सुधार गर्न, निर्वाचनलाई व्यवस्थित बनाउन तथा संघको कार्य–प्रणालीलाई अझ चुस्त बनाउन विधानमा व्यापक संशोधन गर्नु पर्ने आवश्यकता महशुस भएकोले विधानसभा गर्न लागिएको बताएको छ ।

विधानसभामा अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी एवं सदस्य तथा राष्ट्रिय समन्वय परिषद्का प्रतिनिधि एवं संघका संरक्षक, सल्लाहकार तथा मानार्थ सदस्यहरुले भाग लिनेछन् । विधानसभा तथा बौद्धिक सम्मेलनको तयारीका लागि अमेरिका (जुन), युरोपको लग्जेम्वर्ग (जुलाई), एशियाको थाईल्याण्ड लगायतका अन्य क्षेत्रहरुमा तयारी सम्मेलनहरु आयोजना हुने भएका छन् ।

नेपालको आर्थिक विकासमा सहयोग गर्नको लागि गैरआवासीय नेपालीहरुको सामुहिक लगानी प्रवद्र्धन गर्न स्थापना गर्ने भनिएको ‘स्पेसल पर्पोज भेहिकल’ (एसपीभी) को रुपमा कम्पनी खडा गर्ने कार्यले पनि प्रगति हासिल गरेको संघले जानकारी दिएको छ ।

गैरआवासीय नेपालीहरुको सामूहिक लगानी प्रबद्र्धन गर्नका लागि एक छुट्टै कम्पनी खडा गर्ने सम्बन्धमा समेत प्रारम्भिक अध्ययन तयार भएको संघको भनाइ छ । सो अध्ययन प्रतिबेदनलाई सरकारसँग छलफल गरी अन्तिम रुप दिइने भएको छ ।


क्लिकमान्डु