आर्थिक सम्मृद्धिका लागि ओली सरकारलाई राहतः नयाँ उद्योगमा थपियो सवा २ खर्ब लगानी



काठमाडौं । केपी ओलीको नेतृत्वमा गठन भएको वाम गठबन्धनको सरकारलाई आर्थिक सम्मृद्धिका लागि राहत मिलेको छ । चुनाब हुने र राजनीति स्थायीत्व हुने विश्वास गर्दै लगानीकर्ताहरुले नयाँ उद्योगमा लगानी बढाउँदा चुनाबपछि बनेको ओली सरकारलाई राहत मिलेको हो ।

चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा औद्योगिक क्षेत्रमा २ खर्ब ३२ अर्ब ८७ करोड ९ लाख रुपैयाँ बराबरको लगानी थपिएको छ । ३ सय २ उद्योगमा उक्त रकम बराबरको लगानी थपिएको हो ।

गत बर्ष ५ सय ८ वटा उद्योगले १ खर्ब ६२ अर्ब ९५ करोड २० लाख रुपैयाँको लगानी भित्रिएका थिए । चालु आर्थिको बर्षको फागुन मसान्तसम्ममा गत बर्षको तुलनामा ७० अर्ब रुपैयाँले लगानीमा बृद्धि भएको हो ।

चालु आर्थिक बर्षमा ठूलो लगानीका उद्योगहरु थपिएकाले लगानीको हिस्सा बढ्न गएको उद्योग विभागका सूचना अधिकारी दुर्गा प्रसाद भूसालले जानकारी दिए ।

‘पछिल्लो समय नेपालमा ठूलो क्षमताका उद्योगहरु खुल्ने क्रममा वृद्धि भएको छ, ठूलो क्षमताको उद्योगमा ठूलो परिणाम लगानी गर्नुपर्ने भएकाले उद्योगमा लगानी बढ्न गएको हो,’ भूसालले क्लिकमाण्डूसँग भने ।

पछिल्लो समय सरकार पनि लगानीको वातावरण सिर्जना गर्नका लागि सकारात्मक देखिएको छ । गत बर्ष सरकारले लगानी भित्र्याउनका लागि लगानी सम्मेलनको आयोजना पनि गरेको थियो । सो समय सरकारले लगानीकर्ताको लगानीको सूनिश्चिता गर्ने प्रतिबद्धता समेत जाहेर गरेको थियो ।

उद्योग विभागले दिएको जानकारी अनुसार उर्जामूलक क्षेत्रमा २६ वटा उद्योग मार्फत १ खर्ब ५० अर्ब रुपैयाँ बराबरको लगानी थपिएको हो ।

कृषिजन्य क्षेत्रमा १५ वटा उद्योग मार्फत २ अर्ब १३ करोड २७ लाख रुपैयाँ बराबरको लगानी थपिएको हो । निर्माण क्षेत्रमा ३ वटा उद्योग मार्फत ४ अर्ब १ करोड १० लाख रुपैयाँ बराबरको लगानी थपिएको हो ।

सूचना, प्रसारण तथा सञ्चार प्रविधि क्षेत्रमा १५ वटा उद्योग मार्फत ५९ करोड ३० लाख रुपैयाँ बराबरको लगानी थपिएको हो । उत्पादनमूलक क्षेत्रमा ८७ उद्योग मार्फत ५६ अर्ब ४८ करोड २० लाख रुपैयाँ बराबरको लगानी थपिएको हो ।

खनिज क्षेत्रमा ३ वटा उद्योग मार्फत २ अर्ब २२ करोड २२ लाख रुपैयाँ बराबरको लगानी थपिएको हो । सेवामूलक क्षेत्रमा ६७ वटा उद्योग मार्फत ३ अर्ब ८९ करोड ५८ लाख रुपैयाँ बराबरको लगानी थपिएको हो ।

पर्यटन क्षेत्रमा ८६ वटा उद्योग मार्फत १२ अर्ब ७४ करोड ४० लाख रुपैयाँ बराबरको लगानी थपिएको हो ।


पुष्प दुलाल