विभिन्न १० बुँदे घोषणा पत्र जारी गर्दै सकियो सहकारी सम्मेलन



काठमाडौं । विभिन्न १० बुँदे घोषणा पत्र जारी गर्दै राजधानीमा दुई दिनसम्म चलेको दोश्रो राष्ट्रिय सहकारी महासम्मेलन सम्पन्न भएको छ ।

दिगो विकास लक्ष्य पुुरा गर्न सरकार, नीजि क्षेत्र तथा सहकारी सहितको तीनखम्वे अर्थनीतिलाई अवलम्वन गरी समाजवादउन्मुख अर्थतन्त्र निर्माणमा प्रतिबद्ध रहने, संवैधानिक व्यवस्था अनुरुप संघ, प्रदेश र स्थानीय सरकारले बनाउने ऐन, कानुन, नीतिमा एकरुपता ल्याउन तथा सहकारी मैत्री बनाउन आपसी समन्वय र सहकार्य गर्ने, सहकारीको स्वनियमन प्रणाली प्रभावकारी बनाउने लगायत १० बुँदे घोषणा पत्र जारी भएको हो ।

मंगलबारदेखि सुरु भएको महासम्मेलनले पिछडिएका, गरिब, सिमान्तकृत तथा वित्तिय क्षेत्रमा पहुच नपुगेकाहरुलाई विशेष प्राथमिकतामा राखि उनीहरुको सीप तथा क्षमता अभिबृद्धि गराउँदै आर्थिक सामाजिक सवलीकरणमा योगदान पुर्याउने, संबिधानत प्राप्त छुट, सुविधा तथा सहुलियतहरुको उपयोगका लागि आवश्यक पहल चाल्ने, निर्बाहमुखी कृषि प्रणालीलाई व्यवसायिकीकरण गर्ने, सहकारी, निजी र सरकारको साझेदारीमा व्यवसायिक कृषिको अवधारणा ल्याउँदै कृषिउत्पादन, प्रशोधन र बजारीकरण बृद्धि गरी आत्मनिर्भर अर्थतन्त्रको विकासमा सहयोग गर्ने उल्लेख छ ।

यस्तै सवै तहका सहकारी संघ संस्थाहरुलाई व्यवसायीक बनाउने, सहकारीको सहभागितालाई बृद्धि गर्दै यसको लाभ अधिक रुपमा उठाउन सक्ने बनाइन ।

सहकारी सुरक्षण/बीमा लगायतका सामाजिक सुरक्षण कार्यक्रम लागु गर्न पहल गर्ने, पिछडिएका भौगौलिक क्षेत्रमा सहकारीको पहुँच बृद्धि तथा अत्याधिक संख्यामा सहकारीहरू स्थापना भएका स्थानमा सहकारी विच एकीकरणमा जोड दिदै सहकारीको दक्षता विकास गर्ने घोषणा पत्रमा उल्लेख छ ।

दुई दिन सम्म चलेको महासम्मेलनमा नेपालका ७३ जिल्ला सहित भारत, चीन, भुटान, बंगलादेश, पाकिस्तान, जापान, कोरिया लगायतका मुलुकका प्रतिनिधि गरि १ हजार जना सहकारीकर्मीको सहभागिता रहेको थियो ।


क्लिकमान्डु