पर्यटनमन्त्री अधिकारीको पहलमा पशुपति क्षेत्र मगन्तेरहित घोषणा



काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पाशुपति क्षेत्रलाई आजदेखि मगन्तेरहित क्षेत्र घोषणा गरेको छ ।

कोषले आज आयोजना गरेको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीले पेशाका रुपमा माग्न बसेकालाई पुनःस्थापना केन्द्रमा राखी काम गरेर जीविकोपार्जन गर्न सिकाउन सुझाव दिए ।

उनले भने, “माग्ने, चोर्नेकाम विकसित देशमा पनि हुन्छ, यो घोषणा महत्वकांक्षी जस्तो लागेपनि सबैको सहयोगमा कार्यान्वयन गर्न सकिन्छ, यसमा सरकारले पूर्ण सहयोग गर्ने छ ।”

कोष सञ्चालक परिषद्का अध्यक्ष समेत रहेका मन्त्री अधिकारीले धार्मिक पर्यटक भित्रयाउने नेपालको प्रमुख तीर्थस्थल बनेको पशुपतिमा जाऔँ, आऔँ लाग्ने संरचना निर्माण गर्नुपर्नेमा जोड दिए ।

कोषका सदस्यसचिव डा प्रदीप ढकालले धार्मिकस्थललाई मानवीय संवेदनाप्रति ‘ब्ल्याक मेलिङ’ गरेर पेशाका रुपमा माग्नेको संख्या धेरै रहेको सुनाए ।

अध्ययनका क्रममा १८२ जना पशुपतिको मूल मन्दिरको परिषरमा माग्नेको तथ्यांक निक्लिएको छ, जसमा छ महिला मानसिक बिरामी भेटिएको कोषले जनाएको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महांकाल मन्दिर परिषरमा पनि माग्नेको संख्या उल्लेख्य रहेको बताए । महानगरले ज्येष्ठ नागरिकका लागि मनोरन्जन केन्द्र निर्माण गर्न लागेको उनले जानकारी र्दिए ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा, मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारी, कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीलगायतले पशुपति क्षेत्रलाई मगन्तेरहित बनाउने अभियानमा सवैको सहयोग रहने विश्वास व्यक्त गरे ।

मानवसेवा आश्रमको सहकार्यमा पशुपति क्षेत्रका मगन्तेलाई पुनःस्थापना गरिने सो अवसरमा जानकारी गराइयो । हालसम्म ८० मगन्ते आश्रमको गोँगबु र बूढानीलकण्ठ आश्रममा पुनःस्थापना भइसकेको जनाइएको छ । रासस


क्लिकमान्डु