अर्थमन्त्री खतिवडाले अतिरञ्जनापूर्ण स्वेतपत्र ल्याएको कांग्रेसको आरोप



काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले मुलुकको अर्थतन्त्र रित्तो भएको अवस्थामा नभए पनि अर्थमन्त्रीले हालै जारी गरेको श्वेतपत्र अतिरञ्जनापूर्ण रहेको आरोप लगाएको छ ।

बैठकको विशेष समयमा काँग्रेसका डा मीनेन्द्र रिजालले पछिल्लो दशकमा अर्थतन्त्रमा समग्रमा सुधार आए पनि सरकारले यथार्थ विश्लेषण नगरी दोषारोपण गर्ने गरी श्वेतपत्र ल्याएको आरोप लगाए । उनले उत्पादनमूलक क्षेत्रमा लगानी गर्न र निजी क्षेत्रलाई सँगै लान नसक्दा तथा राजनीतिक अस्थिरता हुँदा निर्यात घाटा भएको बताउँदै त्यसको खाडललाई पूर्ति गर्दै सबैको सहयोग लिएर नयाँ सरकारले ठोस कदम चाल्नुपर्नेमा जोड दिए ।

नेकपा एमालेका मोहन बानियाँले दुर्गम क्षेत्र विकास समिति खारेज गर्न नहुने बताए । नेकपा माओवादी केन्द्रका अग्निप्रसाद सापकोटाले भूकम्प एवं अन्य प्राकृतिक प्रकोपपीडित जनता हालसम्म पूर्ववत् जीवनमा फर्कन नसकेको बताउँदै चीनसँगको तातोपानी नाका तत्काल खुलाउन आग्रह गरे ।

संघीय समाजवादी फोरम नेपालका राजेन्द्रप्रसाद श्रेष्ठले काठमाडौँका विभिन्न स्थानमा सडक विस्तारका क्रममा स्थानीयवासीले पाउनुपर्ने क्षतिपूर्ति र सर्वोच्च अदालतले गरेको फैसलासमेत कार्यान्वयन नभएको गुनासो गरे । रासस


क्लिकमान्डु