काठमाडौंको १ लाख रोपनी जग्गामा नयाँ शहरको डीपीआर बनाउने जिम्मा फिनल्याण्डको कम्पनीलाई



काठमाडौं । काठमाडौं उपत्यकामा बन्ने नयाँ शहरको विस्तृत अध्ययन रिर्पोट (डीपीआर) फिनल्याण्डको कम्पनीले बनाउने भएको छ । काठमाडौं जिल्लाको १ लाख रोपनी जग्गामा बन्ने नयाँ शहरको डीपीआर बनाउनका लागि फिनल्याण्डको हेलेन एण्ड को-आर्टिटेक जेभी छनोट भएको हो ।

काठमाडौं उपत्यकामा बढ्दै गएको अवस्थित शहरीकरणलाई व्यवस्थित बनाउनका लागि नयाँ शहर बनाउन लागिएको हो । काठमाडौं उपत्यका विकास प्राधिकरणले उपत्यकाका ४ स्थानमा नयाँ शहर बनाउने प्रक्रिया अनुसार डीपीआर बनाउने काम अघि बढाएको हो ।

काठमाडौं जिल्लाको १ लाख रोपनी जग्मा बन्ने नयाँ शहरको डीपीआर बनाउनका लागि फिनल्याण्डको हेलेन एण्ड को–आर्टिटेक छनोट भएको प्राधिकरणका शहरी योजना विज्ञ भागवतभक्त खोखालीले जानकारी दिए ।

‘प्राधिकरणको मूल्याङन समितिबाट नयाँ शहरको डीपीआर बनाउनका लागि फिनल्याण्डको कम्पनी छनोट गरिएको छ, छनोट भएको कम्पनीको जानकारी दिनका लागि एक हप्ताअघि आशयपत्र सार्वजनिक गरिसकेका छौं,’ खोखालीले क्लिकमाण्डूसँग भने ।

आशयपत्र जारी भएको १५ दिनभित्रमा टेण्डर प्रक्रियामा सहभागी भएका कम्पनीले दाबी विरोध गर्न सक्नेछन् । सो १५ दिनको म्यादभित्र कुनै पनि कम्पनीको दाबी विरोध नआएमा प्राधिकरणले फिनल्याण्डको कम्पनीसँग डीपीआर सम्झौता अघि बढाउने छ ।

नयाँ शहर बन्ने स्थान

प्राधिकरणले काठमाडौं जिल्लाको १ लाख रोपनी जग्गामा बन्ने नयाँ शहरको नाम (काठमाडौं ईसान) राखेको छ । नयाँ शहर काठमाडौंको पूर्व–उत्तर क्षेत्र समेटेर निर्माण गरिने छ ।
पूर्वः भक्तपुरको नगरकोट जाने सडक, तेलकोट भन्ज्याङसम्म ।

पश्चिमः जोरपाटी क्रिकेट स्टेडियम, मुलपानी, गोठाटर हँदै मनोहरा पुल भक्तपुर जाने पुरानो बाटो ।

उत्तरः साँखु बजार र साँखु जाने मुल सडक ।

दक्षिणः भक्तपुर पुरानो बाटो (नेपाल सैनिक प्रतिष्ठान– खरिपाटी, देवोमिबा इतापाके जग्गा एकिकरण आयोजना, सिन्टीटार जग्गा एकिकरण आयोजना र दिव्यश्वरी जग्गा एकिकरण आयोजना बाहेकको क्षेत्रहरु मात्र) भित्रको करिब १ लाख रोपनी क्षेत्रफल जग्गामा नयाँ नगरको भौतिक विकास योजना तर्जुमा गर्नेछ ।


क्लिकमान्डु