१२ लाख रुपैयाँमा खेलमैदान र मन्दिर निर्माण




म्याग्दी । म्याग्दीको रघुंगगा गाउँपालिका–३ अक्षतामा युवाको सक्रियतामा खेलकूद मैदान र देवी मन्दिर निर्माण गरिएको छ ।

सनराइज युथ क्लबको अगुवाइमा करिब १२ लाख रुपैयाँ लगानीमा देवी मन्दिर र खेलकूद मैदान निर्माण गरिएको हो ।

सो मन्दिर तथा खेलमैदान निर्माणका लागि ४ लाख ६० हजार ४४९ रुपैयाँ संकलन भएको थियो । त्यसैगरी मन्दिर र खेलकूद मैदान निर्माणमा ४ लाख २५ हजार रुपैयाँ बराबरको जनश्रमदानसमेत गरिएको क्लबका अध्यक्ष जगत भण्डारीले जानकारी दिए ।

क्लबका अनुसार सो खेलमैदान सम्याउनको लागि डोजर खर्चमा रघुगंगा गाउँपालिकाका अध्यक्ष भव बहादुर भण्डारीले ३३ हजार रुपैयाँ बराबरको सहयोग गरेका छन् । मन्दिर र खेलमैदान निर्माणमा ८ लाख ३ हजार रुपैयाँ चन्दा संकलन र श्रमदानमार्फत जुटाइए पनि अझै ३ लाख ४३ हजार रुपैयाँ ऋण रहेको क्लबले जनाएको छ ।

नवनिर्मित मन्दिरको उद्घाटन कार्यक्रमको अवसरमा शनिबार मात्रै ५० हजार रुपैयाँ थप सहयोग जुटेको छ । मन्दिर पूर्णरुपमा निर्माण कार्य सम्पन्न भएपनि खेलमैदान निर्माण कार्य अन्तिम चरणमा पुगेको क्लबले जनाएको छ ।


क्लिकमान्डु