राजधानीको ट्राफिक जाम हटाउन तात्यो गृह मन्त्रालय, ३ वटा कमिटि बनाएर काम थाल्यो



काठमाडौं । ट्राफिक जामको समस्याले आक्रान्त भएका राजधानीबासीका लागि खुसीको खबर छ । गृह मन्त्रालयले काठमाडौं उपत्यकाको ट्राफिक जाम हटाउन विशेष पहल थालेको छ ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले उपत्यकाको ट्राफिक जाम अन्त्य गर्न विभिन्न कमिटि नै बनाएर काम सुरु गरेका छन् ।

‘ट्राफिक जामक अन्त्य गर्ने विषयलाई नै लिएर गृहमन्त्रीले ३ पटक बैठक डाकिसक्नु भएको छ,’ गृह मन्त्रालयका प्रेस संयोजक किरण भट्टराईले क्लिकमाण्डूसँग भने, ‘ट्राफिक जामको व्यवस्थापन गर्न मन्त्रीज्यू आफैंले विशेष सक्रियता देखाउनु भएको छ ।’

ट्राफिक जाम हटाउने उद्देश्यले गृहमन्त्री थापाको संयोजकत्वमा अर्थ, सञ्चार, भौतिक पूर्वाधार, उर्जा, शहरी विकासलगायतका मन्त्रालयका सचिवहरु सदस्य रहेको कमिटि गठन गरिएको छ ।

‘आगामी बैठक ट्राफिक व्यवस्थापनमा कार्ययोजना लिएर आउनु भन्नुभएको छ,’ भट्टराईले भने ।

मन्त्री थापाले पहिलो चरणमा सडक विभाग, यातायात कार्यालय, ट्राफिक प्रमुख र त्यसपछि उपत्यकाका महानगरसहित सबै स्थानीय तहका प्रमुखलाई मन्त्रालयमै बोलाएर ट्राफिक जाम अन्त्य गर्नका लागि छुट्टाछुट्टै छलफल गरिसकेका छन् ।

त्यसैगरी, नेपाल प्रहरी, जनपथ प्रहरी, नेपाली सेनाका केन्द्रिय प्रमुख र काठमाडौं, ललितपुर र भक्तपुरका सीडीयो, ट्राफिक प्रमुख र प्रहरी प्रमुखलाई बोलाएर पनि छलफल गरिसकेका छन् ।

उक्त कमिटिको मातहतमा फेरि अर्को कमिटि पनि गठन गरिएको छ । ट्राफिक प्रहरी, नेपाल टेलिकम, विद्युत प्राधिकरण, सडक विभालगायतका प्रमुखहरु संलग्न कमिटी छ । सो कमिटिले सडक निर्माण समयमा भयो कि भएन, कहाँ कहाँ ट्राफिक व्यवस्थापनको जिम्मा कस्तो छ र कसरी व्यवस्थित गर्ने लगायतका कामहरु गर्नेछ ।

विगतमा पनि मन्त्रीहरुले यस्ता कमिटिहरु बनाउँदै आएका थिए । तर, जनतालाई अनुभुत हुनेगरी ट्राफिक जाम नियन्त्रण गर्न भने सकेका थिएनन् ।


पुष्प दुलाल