एनएमबि माइक्रोफाइनान्सको वार्षिक उत्सब सम्पन्न




काठमाडौं । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था स्थापनाको पाँचौं वर्ष पुरा गरी छैठौं वर्षमा प्रवेश गरेको छ ।

सो अवसरमा वित्तीय संस्थाको केन्द्रीय कार्यालय र हाल सञ्चालनमा रहेका ७५ वटा शाखा कार्यालयहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत खुल्ला रक्तदान कार्यक्रम, सामुदायिक विद्यालयमा स्टेशनरी वितरण, वृद्धाश्रममा वृद्ध वृद्धाहरुलाई फलफुल तथा खाद्यन्न वितरण लगायतका कार्यक्रम गरी बिहीवार वार्षिक उत्सव मनाएको संस्थाका प्रमुख कार्यकारी अधिकृत तिर्थरत्न कोनाजोले बताए ।

वार्षिक उत्सव मनाउने क्रममा वित्तीय संस्थाले विहान पोखराको लेकसाइड स्थित केदारेश्वर मन्दिर परिसरमा सरसफाई गरी कार्यक्रमको सुरुवात गर्यो । मन्दिर सरसफाई पश्चात केन्द्रीय कार्यालयको प्राङगणमा रक्त सञ्चार केन्द्र पोखराको प्राबिधिक सहयोगमा वित्तीय संस्थाका कर्मचारीहरु र पोखरा लेखनाथको हेम्जा स्थित समुदायहरु सम्मिलित ४५ जना रक्तदाताहरुले रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रम पश्चात पोखरा लेखनाथ वडा नं. ३२ स्थित राधाकृष्ण बृद्धाश्रमका ५२ जना बृद्धबृद्धाहरुलाई वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तिर्थरत्न कोनाजोले फलफुल वितरण गरे । कार्यक्रममा कोनाजोले वित्तीय संस्थाले बेला बेलामा संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा यस्ता सामाजिक कार्यहरु गर्दै आएको कुरा बताए ।

२०६९ चैत्र महिनाबाट विधिवत रुपमा कार्यक्रमको सुरुवात गरेको वित्तीय संस्थाले स्थापनाको पाँचौं वर्षको अवधीमा देशका ४५ वटा जिल्लाहरुमा ७५ वटा शाखा कार्यालयहरु स्थापना गरिसकेको छ । माइक्रोफाइनान्सले करिब ८० हजार जना सदस्य विस्तार गरी करीव ४४ हजार जनालाई करीब २ अर्ब १५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ भने ५८ करोड रुपैयाँ वचत संकलन गरेको छ ।


क्लिकमान्डु