पराजुलीले साउनयता गरेको निर्णय के हुन्छ ? खाएको तलब भत्ता नि ?




काठमाडौं । न्यायपरिषदले गत साउन २१ गते नै प्रधानन्यायाधिश गोपाल प्रसाद पराजुलीले उमेर हदको कारण अवकाश पाएको भन्दै उनलाई पत्र दिएपछि त्यसयता उनले गरेका निर्णय र खाएको सेवा सुबिधा के हुन्छ भन्ने नयाँ बहस सुरु भएको छ ।

केही पूर्वप्रधान न्यायाधिशहरु भने पदमा रहदा गरेको निर्णय र पाएको सेवा सुबिधा कायम हुने बताउँछन् । तर, असल नियतले गरेको कामको हकमा मात्रै यस्तो लागू हुने उनीहरुको भनाइ छ ।

‘परिषदको पत्रलाई आधार बनाउँदा पनि उहाँ (प्रधानन्यायाधिक पराजुली) पदमै रहेर काम गरिरहनु भएको थियो, पहिल्यै अबकाश पाउनु पर्ने भएपनि प्राविधिक कारणले पदमा रहेको देखियो, यो बीचमा पदमा रहेर असल नियतले गरेको काम र पाएको सेवा सुबिधा यथाबत रहन्छ,’ नाम उल्लेख नगर्ने शर्तमा एक पूर्वप्रधान न्यायाधिशले क्लिकमाण्डूसँग भने ।

ती पूर्वप्रधान न्यायाधिशले ‘असल नियतले गरेका काम’ भन्ने वाक्यांश प्रयोग गरे । तर, पराजुलीले प्रधान न्यायाधिशको हैसियतमा गरेका कतिपय निर्णयहरुलाई लिएर विवाद गर्ने गरिएको छ । यस्तै उनको जन्म मितिबारे पनि विभिन्न प्रश्नहरु उठेका थिए ।

केही न्यायाधिशहरुले भने निजामति कर्मचारीको बिषयमा यस्ता धेरै बिवाद अदालतमा आएका र त्यस्ता विवादमा उसले पदमा रहेर काम गरुन्जेल सेवा सुबिधा पाउने र पदमा रहेर गरेका निर्णयहरुलाई मान्यता दिने नजिर भएको दाबी गरेका छन् ।

बरिष्ठ अधिवक्ता तथा नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष विश्वकान्त मैनाली भने यो बिषयमा यसै हुने भन्न नसकिने बताउँछन् ।

‘केही समय अगाडि उहाँले प्रधानन्यायाधिशको हैसियतमा राष्ट्रपतिलाई सपथ खुवाउनु भयो, प्रधान न्यायाधिशकै हैसियतमा झण्डावाल गाडीमा चढेर जानुभयो, अहिले पनि उहाँ बसेको घरमा प्रधान न्यायाधिश भनेर झण्डा राखिएको छ, उहाँलाई प्रधान न्यायाधिशकै हैसियतमा राज्यले सुरक्षा पहरा दिइरहेको छ, त्यसकारण यसै हुन्छ भन्न सकिएन, घटनाक्रम कसरी विकास हुन्छन्, त्यसैले तय गर्ला,’ मैनालीले क्लिकमाण्डूसँग भने ।

न्याय परिषदका सचिब नृपध्वज निरौलाले प्रधान न्यायाधिश पराजुली उमेर हदको कारण गत साउन २१ गते नै अबकास भएको पत्र पराजुलीलाई आजै दिएका छन् ।


क्लिकमान्डु