५ मिनेटको कारण राष्ट्रपति सपथ बिबादमा !




काठमाडौं । नवनिर्वाचित राष्ट्रपति बिद्यादेबी भण्डारीको सपथग्रहण विवादमा परेको छ ।

न्यायपरिषदले प्रधानन्यायाधिश गोपाल प्रसाद पराजुली गत साउन २१ गते नै उमेर हदको कारण पदमुक्त भएको जानकारी दिएपछि राष्ट्रपति भण्डारीले पराजुलीबाटै सपथग्रहण गरेपछि विवाद उत्पन्न भएको हो । न्यायाधिशहरुको शैक्षिक योग्यता, उमेर तथा सेवा अवधि जस्ता विषयको तथ्यांक न्यायपरिषदले राख्ने गर्छ ।

परिषदले परीक्षा नियन्त्रण कार्यालय सानोठिमीबाट मगाएको चारित्रिक प्रमाणपत्र आजै प्राप्त भएको र सो प्रमाणपत्रमा पराजुलीको उमेर गत साउन २१ गते नै ६५ बर्ष पुगेको जानकारी दिएको छ ।

परिषदले आज अपरान्ह ४ बजे यस्तो निर्णय गरेको न्यायपरिषदका सचिब नृपध्वज निरौलाले जानकारी दिए । यस्तो निर्णय लगत्तै परिषदले सोको जानकारी राष्ट्रपति कार्यालय लगायलाई दिएको थियो । राष्ट्रपति भण्डारीले आज अपरान्ह ४ बजेर ५० मिनेट जादा प्रधानन्यायाधिश पराजुलीबाट पद तथा गोपनीयताको सपथ गरेकी थिइन् ।

राष्ट्रपति कार्यालयले भने परिषदको पत्र ढिला प्राप्त भएको कारण पराजुलीबाट राष्ट्रपतिले पद तथा गोपनीयताको सपथ लिएकी जानकारी दिएको छ । परिषद स्रोतले पनि आफ्नो पत्र राष्ट्रपतिको सपथको ५ मिनेट पछि मात्रै प्राप्त भएको जानकारी प्राप्त भएको बताएको छ ।

‘परिषदका कर्मचारीले पत्र लिएर राष्ट्रपति कार्यालय गएका थिए, पत्र बोकेका कर्मचारी त्यहाँ पुग्दा ५ मिनेट ढिला भएको भन्ने सुनियो,’ परिषद स्रोतले भन्यो ।


क्लिकमान्डु