काठमाडौंको १० हजार रोपनी जग्गामा नयाँ शहरको डीपीआर बनाउन ५ कम्पनी इच्छुक




काठमाडौं । काठमाडौं जिल्लाको १० हजार रोपनी जग्गामा बन्ने नयाँ शहरको विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) बनाउन ५ वटा कम्पनीले इच्छा देखाएका छ ।

काठमाडौं उपत्यका विकास प्राधिकरणले आव्हान गरेको एक्सप्रेस अफ इन्ट्रेस (इओआई) का लागि ५ वटा कम्पनीले प्रस्ताव पेस गरेका हुन् ।

काठमाडौं जिल्लाको १० हजार रोपनी जग्गा नयाँ शहरका लागि आव्हान गरिएको इओआई रिर्पोटमा प्राविधिक समस्या देखिएकाले प्राधिकरणले पुनःइओआई प्रस्ताव माग गरेको थियो ।

प्राधिकारणले गत फागुन १४ गते १५ दिने सूचना जारी गरी काठमाडौं जिल्लाको १० हजार रोपनी जग्गाका लागि इओआई माग गरेको हो ।

सूचनाको अन्तिम दिन फागुन २९ गतेसम्म ५ वटा कम्पनीले इओआई पेश गरेको प्राधिकारणका शहरी योजना विज्ञ भागवतभक्त खोखालीले जानकारी दिए ।

‘काठमाडौंको १० हजार रोपनी जग्गामा निर्माण हुने नयाँ शहरको डीपीआर निर्माणका लागि ५ वटा कम्पनीले इच्छा देखाएका छन्, कम्पनीहरुको प्रस्तावलाई प्राधिकरणको मूल्याङकन समितले अध्ययन गर्छ, अध्ययनबाट उत्कृष्ट ठरिएका कम्पनीलाई लेटर फर इन्ट्रेष्ट (आरएफइ) पठाइने छ,’ खोखालीले भने ।

प्राधिकरणले काठमाडौं उपत्यकामा बढ्दै गएको अव्यवस्थित शहरीकरणलाई व्यवस्थित बनाउनका लागि उपत्यकाका ३ जिल्लाको ४ स्थानको १ लाख ३० हजार रोपनी जग्गामा नयाँ शहर बनाउन लागेको हो ।

भक्तपुर र ललितपुर जिल्लाको १०÷१० हजार रोपनी जग्गामा निर्माण गरिने नयाँ शहरका लागि डीपीआर निर्माण गर्ने कम्पनी छनोट भइसकेका छन् । काठमाडौं जिल्लाको १ लाख रोपनी क्षेत्रफलमा बन्ने नयाँ शहरको डीपीआर बनाउने कम्पनी छनोट हुने अन्तिम चरण पुगेको प्राधिकरले जानकारी दिएको छ ।

२ स्थानका लागि डीपीआर निर्माण गर्ने कम्पनी छनोट भईसकेको र अर्को स्थानका लागि डीपीआर निर्माण गर्ने छनोट हुने चरणमा छ । यस्तो अवस्थामा काठमाडौंको १० हजार रोपनी जग्गामा बन्ने नयाँ शहरको डीपीआर निर्माण गर्ने कम्पनी छनोट कार्य प्राथमिकताका साथ अगाडि बढाउने प्राधिकारणको भनाइ छ ।

जेठको पहिलो साताभित्रमा डीपीआर निर्माण गर्ने कम्पनी छनोट गर्ने प्राधिकारणले जानकारी दिएको छ ।

यी स्थानमा बन्दै छन् नयाँ शहर

(क) काठमाडौं ईसान (पूर्व-उत्तर) नयाँ सहर विस्तार क्षेत्र

पूर्वः भक्तपुरको नगरकोट जाने सडक, तेलकोट भन्ज्याङसम्म ।

पश्चिमः जोरपाटी क्रिकेट स्टेडियम, मुलपानी, गोठाटर हँदै मनोहरा पुल भक्तपुर जाने पुरानो बाटो ।

उत्तरः साँखु बजार र साँखु जाने मुल सडक ।

दक्षिणः भक्तपुर पुरानो बाटो (नेपाल सैनिक प्रतिष्ठान-खरिपाटी, देवोमिबा इतापाके जग्गा एकिकरण आयोजना, सिन्टीटार जग्गा एकिकरण आयोजना र दिव्यश्वरी जग्गा एकिकरण आयोजना बाहेकको क्षेत्रहरु मात्र) भित्रको करिब १ लाख रोपनी क्षेत्रफल जग्गामा नयाँ नगरको भौतिक विकास योजना तर्जुमा गर्ने ।

(ख) काठमाडौं आग्नेयः (पूर्व–दक्षिण) काठमाडौं उपत्यकाभित्र भक्तपुर जिल्लाको नयाँ सहर विस्तार क्षेत्र ।

निम्न सिमानाभित्रको कटुन्जे, गुण्डु, दधिकोट, शिरुटार, बालकोट भित्रको जग्गाहरु ।

पूर्वः अरनिको राजमार्गको सूर्यविनायक चोकदेखि सुर्यविनायक मन्दिर अगाडी वनलाई बाहिर पार्दै फेदको बाटो ।

पश्चिमः खहरे खोला, बालकोट विरुवा सडक, पानी ट्याकी, बालकोट अमरनगर थिमी हुँदै अरनिको राजमार्ग सिमान ।

उत्तरः अरनिको राजमार्गको सिमाना ।

दक्षिणः भक्तपुर जिल्लाको सिनामंगल, रानीकोट जंगल छेउ, अनन्तलिगेश्वर फेदी, तर्खगाल, पात्लेटार, विरुवा हुँदै खहरेसम्म करिब १० हजार रोपनी क्षेत्रफल ।

(ग) काठमाडौं तैऋत्यः (दक्षिण-पश्चिम) ललितपुर जिल्लाको नयाँ सहर विस्तार क्षेत्र ।

निम्न सिमानाभित्रको साविको खोकना (१, २, ३, ४, ५, ६, ७, ८) र बुङमती (१ नम्बर वडाको भैंसिपाटी छम्पी जाने मुख्यबाटोबाट बस्ती तर्फ मात्र, र २, ३, ४, ५, ६ को सबै) नगरपालिकाका जग्गाहरु ।

पूर्वः छेयासीकोटदेखि साविक सैवु गाविसको सिमान हुँदै फसिडोल, वाग्मती नदीको झोलगे पुलसम्म ।

पश्चिमः बागमती नदी सिमना ।

उत्तरः साविक सैंबु गाविसको सिमाना ।

दक्षिणः बागमती नदीसम्म करिब १० हजार रोपनी क्षेत्रफल ।

(घ) काठमाडौं उत्तरः काठमाडौ जिल्लाको नयाँ हरित सहर विस्तार क्षेत्र ।

पूर्वः सामाकोसी, टोखा रोड हुँदै बाइपास ।

पश्चिमः काभ्रेस्थली बाइपास जाने मुल सडक ।

उत्तरः सपनातिर्थ मालुङ हुँदै काभ्रेस्थली ।

दक्षिणः ग्रीनल्याण्ड चोकदेखि मनोरथ हुँदै महादेव खोला काभ्रेस्थलीको मुल सडक पुलसम्म करिब १० हजार रोपनी क्षेत्रफल ।


क्लिकमान्डु