निकुञ्ज जिप सफारीमा पर्यटक आकर्षित




चितवन । पर्यटकीय नगरी सौराहामा आउने पर्यटकमध्ये करिव ७० प्रतिशतले जिप सफारी गरेर चितवन निकुञ्ज घुम्ने गरेका छन् ।

सुरक्षित र सहज रुपमा वन्यजन्तु हेर्न पाइने भएकाले निकुञ्जको जिप सफारीमा पर्यटकको आकर्षण बढेको हो । संरक्षणकर्मी एवं पर्यटन व्यवसायी टीका गिरी बाघ गैँडालगायत वन्यजन्तु अवलोकनका लागि यहाँको जिप सफारी उत्कृष्ट अवसर भएको बताउँछन् ।

जिप सफारीमा मयुर, चित्तल, रतुवा मृग, गौरीगाई, बँदेल, गोही, खुला खोरमा राखिएको अर्ना तथा विभिन्न प्रजातिका चरा अवलोकन गर्न सकिन्छ । चितवनको पूर्वी सेक्टरअन्तर्गत पर्ने सौराहा आसपास पदमपुर गैँडाको उत्कृष्ट वासस्थान हो । विसहजारी ताल, इचर्नी टापू, खोरसोर, बाघमारा वन, दुधौरा, कछुवानी र पूर्व कुमरोज गैँडाको राम्रो वासस्थान हो ।

निकुञ्जको पूर्वी सेक्टरमा करिव ६० वटा गैँडा अभिलेख गरिएको चितवन राष्ट्रिय निकुञ्जका पूर्वी सेक्टर प्रमुख अभिनय पाठकले बताए । सौराहामा आउने पर्यटक हात्ती र जिप सफारीमा बढी रमाउँछन् ।

‘सौराहा आउने पर्यटकमध्ये ७० प्रतिशतभन्दा बढीले जिप सफारी गर्छन्’, क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष सुमन घिमिरेले भने ।

सिमसार क्षेत्र, घाँसे मैदान, वन्यजन्तुका वासस्थान, नदीतटीय वन र सालका जंगल एकैसाथ अवलोकन गर्न सकिने भएकाले पनि विभिन्न प्रजातिका वन्यजन्तु अवलोकन गर्न सौराहाको जिप सफारी महत्वपूर्ण हुने बाघ संरक्षण उपसमिति सौराहाका अध्यक्ष जितु तामाङको भनाइ छ ।

सौराहाबाट निकुञ्ज घुम्नका लागि ४० भन्दा बढी जिप सञ्चालनमा छन् । निकुञ्जमा जिप सफारी गरेबापत गाइडसहित शुल्क १ हजार ५ सय रुपैयाँ लाग्छ । नेपालीलाई १ सय १३ रुपैयाँ, सार्कको नागरिकलाई ८ सय ५० तथा तेस्रो मुलुकका पर्यटकलाई १ हजार ६ सय ९५ थप शुल्क लाग्छ । एउटा जिप प्रवेश गर्दा निकुञ्जले ४ हजार ५ सय २० रुपैयाँ शुल्क लिन्छ ।

सौराहा रेवानका अध्यक्ष गोकर्ण गिरी पर्यटन र संरक्षण सँगसँगै गएकाले पनि सौराहाको आसपास क्षेत्रमा हात्ती र जिप सफारीमा पर्यटकले सहजै गैँडालगायत वन्यजन्तु हेर्न पाउने बताए।


क्लिकमान्डु