२२ सय जनाले पाए पौने पाँच अर्ब रुपैयाँ



काठमाडौं । सरकारले १२ सय मेगावाटको बुढीगन्डकी जलविद्युत आयोजनाबाट प्रभावित २२ सय ३३ जनालाई मुआब्जा वितरण गरेको छ ।

बुढीगन्डकी जलविद्युत आयोजनाको कार्यदलले धादिङको खरी, मेदी र संलाङका ११ सय ७९ जनालाई मुआब्जा वितरण गरेको छ । यसैगरी आयोजनाको कार्यालय गोरखाको घ्यालचोक, दरबुङ, भुल्मीचोकका १ हजार ५४ जनालाई अधिकरण भएको जग्गाको मुआब्जा वितरण गरेको छ ।

आयोजनाका एकाउन्टेन्ट सन्तोष विकका अनुसार अहिलेसम्म चार अर्ब ७४ करोड ४५ लाख २० हजार चार सय ४५ रुपैयाँ जग्गाको मुआब्जा वितरण भएको छ । जसमा धादिङ तर्फका प्रभावितले दुई अर्ब ४९ करोड ४८ लाख ३ हजार ४४ रुपैयाँ पाइसकेका छन् । यसैगरी गोरखा तर्फको प्रभावित स्थानीयले २ अर्ब २४ करोड ९७ लाख १७ हजार चार सय १० रुपैयाँ मुआब्जा पाएको विकले जानकारी दिए ।

सरकारले बुढीगन्डकी जलविद्युत आयोजनाबाट प्रभावित स्थानीयलाई ११ मोडालिटिमी मुआब्जा वितरण गरिरहेको छ । सरकारले जग्गाको मुआब्जा वितरणमा खेततर्फ ४, बारीतर्फ चार र बाक्लो बस्तसिँगै मुलबाटो, मुलबाटोसँग जोडिएको जग्गा र अन्य बस्ती गरी ११ मोडालिटीमा रकम विवतरण गरिरहेको छ ।

जसमा सबैभन्दा कम बारी तर्फका चाहरले प्रतिरोपनी पाँच लाख २५ हजार, सिमले पाँच लाख ५६ हजार, दोयमले पाँच लाख ८७ हजार र अब्बलले ६ लाख १८ प्रतिरोपनी मुआब्जा पाएका छन् । यसैगरी खेततर्फ प्रतिरोपनी चाहरले ६ लाख ४९ हजार, सिमले ६ लाख ८० हजार, दोयमले ७ लाख ११ हजार र अब्बलले  ७ लाख ४२ हजार रुपैयाँ पाएका छन् ।

यसैगरी सामान्य बस्ती भएको ठाउँका स्थानीयले प्रतिरोपनी ७ लाख ७३ हजार, मुलबाटोसँग जोडिएको जग्गाको प्रतिरोपनी ८ लाख ४ हजार र सबैभन्दा बढी बाक्लो बस्तीसँगै मोटरबाटो जोडिएको ठाउँको जग्गाको प्रतिरोपनी ८ लाख ३५ हजार रुपैयाँका दरले मुआब्जमा पाएको उनको भनाइ छ ।

आयोजनाबाट गोरखाका १४ र धादिङका १३ गाविसका बासिन्दा प्रभावित हुने एकिन भयो । भौतिकरुपमा भने आयोजनाबाट ३५ सय ६० घर परिवार र १९ हजार ५ सय ९० जनसंख्या विस्थापित हुनेछन् । आर्थिकरुपमा ४५ सय ५६ घर परिवार र २५ हजार ६३ जनसंख्या प्रभावित हुनेछन् ।

आयोजनाबाट धादिङको ३५ हजार २ सय ७ रोपनी जमीन डुबानमा पर्नेछ भने गोरखाको ३१ हजार ९ सय रोपनी डुबानमा पर्नेछ । कुल १ लाख ३० हजार ५ सय २३ रोपनी क्षेत्रफल जमिन डुबानमा पर्ने टुंगो लाग्यो । जसमा सरकारले मुआब्जा वितरण गर्नुपर्ने निजी जमीन ६७ हजार १ सय ७ रोपनी थियो ।

आयोजनाबाट गोरखाका घ्यालचोक, दरबुङ, भुल्मीचोक, फुजेल, नामजुङ, बुङकोट, बोरलाङ, धावा, तान्द्राङ, आरुचनौटे, आरु आर्बाङ, थुमी र धादिङका सलाङ, मैदी, खरी, चैनपुर, ज्यामरुङ, मारपाक, त्रिपुरा, अग्निचोक, सल्यानटार, मुलपानी, बुढाथुम र बसेरी गरी १३ गाविसका बासिन्दा प्रभावित एकिन भयो । यसैगरी आयोजनाले खहरे, सल्यानटार र आरुघाट बजारको जग्गाको मुआब्जा रेट तोक्न सकेको छैन । साथै प्रभावित स्थानीयको आवसको पनि मुआब्जा रेट निर्धारण भएको छैन ।


क्लिकमान्डु