महन्थ ठाकुले सांसदहरुलाई सफथ खुवाउँदा रेशम चौधरी भने जेलमै



काठमाडौँ । संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सांसदहरुलाई आज अपराह्न संघीय संसद भवन, नयाँ बानेश्वरस्थित प्रतिनिधिसभाको सभाहलमा शपथ गराए ।

यसअघि आजै राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ सदस्य ठाकुरलाई शपथ गराएकी थिइन् ।

शपथपछि सबै सांसदले संघीय संसद सचिवालयबाट प्राप्त सांसदको लोगो लगाएका थिए । यस लगत्तै उनीहरु सचिवालयद्वारा आयोजित जलपान कार्यक्रममा सहभागी भए । शपथ लिन सांसदहरु राष्ट्रिय तथा आफ्ना पहिचान झल्कने पोशाकमा आएका थिए ।

नेपालको संविधानको धारा ८४ मा प्रतिनिधिसभा गठनबारे व्यवस्था छ । प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित १६५ र समानुपातिकतर्फ ११० गरी २७५ सदस्य छन् । संसदको पहिलो बैठकमा सहभागी हुनु अघि उनीहरुले आज शपथ लिएका हुन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानबमोजिम सरकारको सिफारिशमा भोलि फागुन २१ गते संघीय संसदको पहिलो बैठक आह्वान गरेकी छन् ।

निर्धारित कार्यक्रम बमोजिम फागुन २१ गते अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभा दुबै सदनको पहिलो बैठक एकै समयमा आ-आफ्ना सभाहलमा बस्दैछ ।

प्रतिनिधिसभामा नेकपा (एमाले) का १२१, नेपाली काँग्रेसका ६३, नेकपा (माओवादी केन्द्र) ५३, संघीय समाजवादी फोरम नेपालका १७, राष्ट्रिय जनता पार्टी नेपालका १६ तथा नयाँ शक्ति पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका एक/एक र स्वतन्त्र एक सांसद छन् ।

प्रतिनिधिसभाका ३८ सदस्यले आफ्नो मातृभाषा ९भोजपुरी, मैथिली, अवधि, तामाङ, थारु, मगर र हिन्दी० मा शपथ लिए । प्रतिनिधिसभाको निर्वाचन गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न भएको थियो ।

केही कानुनी अड्चनका कारण निर्वाचन भएको तीन महिनापछि मात्र प्रतिनिधिसभाका सदस्यलाई शपथ ख्वाउने काम भएको छ ।

दुबै सदनमा प्रत्येक दलबाट कम्तीमा एक तिहाई महिला सदस्य हुनुपर्ने कानुनी बाध्यताका कारण राष्ट्रियसभाको निर्वाचनपछि मात्र निर्वाचन आयोगले प्रतिनिधिसभाको अन्तिम मतपरिणाम सार्वजनिक गरेको हो । ५९ सदस्यीय राष्ट्रियसभाको निर्वाचन गत माघ २४ गते सम्पन्न भएको थियो ।

शपथमा ४ सांसद अनुपस्थित

संघीय संसद्को तल्लो सदन प्रतिनिधिसभाका सदस्यको शपथ कार्यक्रममा ४ सांसदको अनुपस्थिति रह्यो ।

प्रतिनिधिसभाको सभाहलमा आज भएको शपथ कार्यक्रममा सांसदहरु टोपबहादुर रायमाझी, महेन्द्रराय यादव, धर्मशीला चापागार्इं र रेशम चौधरी उपस्थित नभएको संघीय संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमले जानकारी दिए ।
कूल २७५ सदस्यीय प्रतिनिधिसभाका सदस्यको शपथमा २७१ सांसद उपस्थित थिए । सांसद चौधरी अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा छन् भने अन्य सांसद व्यक्तिगत कारणले शपथमा अनुपस्थित रहेको बताइएको छ । रासस


पुष्प दुलाल