अर्थमन्त्री खतिवडाको अभिव्यक्तिले एकैदिनमा लगानीकर्ताले ४७ अर्ब रुपैयाँ गुमाए



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाको अभिव्यक्तिले सेयर बजारका लगानीकर्ताको एकदिनमा नेपाली सेयर बजारमा ४७ अर्ब रुपैयाँ गुमाएका छन् ।

अर्थमन्त्री खतिवडाले सेयर बजार अनुत्पादक भनेर अभिव्यक्ति दिने दिन नेपालको सेयर बजारको कुल बजार पुँजीकरण १५ खर्ब ७४  अर्ब  रुपैयाँ थियो ।

अर्थमन्त्री खतिवडाले दिएको अभिव्यक्तिपछि खुलेको सेयर बजार आइतबारको दिन ३.०९ अंकले ओरालो लाग्यो । जसबाट बजार पुँजीकरण १५ खर्ब २७ अर्ब रुपैयाँमा झरेको छ ।
अर्थमन्त्री डा खतिवडाले गत बुधवार बेलुका बिबिसी नेपाली सेवामा दिएको अन्तरवार्तामा तरलता समस्या समाधानको लागि विदेशबाट पुँजी ल्याउनुपर्ने र यस्तो रकम घरजग्गा,सेयर तथा हायर पर्चेज जस्तो अनुत्पादक क्षेत्रमा कर्जा लगानी गर्न नहुँने बताएका थिए ।

अर्थमन्त्री खतिवडालाई घरजग्गा तथा सेयर बजारका लगानीकर्ता यो क्षेत्रसँग कठोर नीति राख्ने व्यक्तिको रुपमा लिने गर्छन् ।

बजारमा अर्थमन्त्रीको अभिव्यक्ति अनुसार नेप्से परिसूचक घट्ने अनुमान थियो । अर्थमन्त्रीको अभिव्यक्तिपछि पहिलो पटक आइतबार खुलेको सेयर बजार नेप्से परिसूचक ४१.५६ अंकले ओरालो लागेको छ ।

आइतबार कारोबार १५१ वटा कम्पनीको कारोबार भएको छ । सेयर बजारमा ४८ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

२०६५ सालमा तत्कालिन अर्थमन्त्री डा बाबुराम भट्टराईले सेयर बजारलाई जुवाजस्तो बनाउन नहुँने अभिव्यक्ति दिएका थिए । उनले सेयर बजार जुवाजस्तो भनेको बताएपछि त्यतीबेला सेयर बजार अत्याधिक घटेको थियो ।

यो पटकपनि अर्थमन्त्रीको अभिव्यक्तिलाई लगानीकर्ताले त्यो अनुसारको बुझेको देखिएको छ ।

सेयर बजारका जानकार तथा विश्लेषकहरु भने अर्थमन्त्रीको अभिव्यक्तिलाई गलत अर्थ लगाएर सेयर बजार घटाउन प्रयास भएको विश्लेषण गर्छन् ।

अर्थमन्त्री खतिवडाको भनाईलाई सेयर लगानीकर्ता संघले विरोध गरेको छ । सामाजिक सन्जालपनि अत्याधिक विरोध भएको छ ।

सेयर बजारमा अहिले त्यसैपनि बैंकको ब्याजदर तथा अत्याधिक थपिएको बोनस तथा हकप्रदले बिक्रीको चाप थियो । जसमा अर्थमन्त्री खतिवडाको अभिव्यक्तिले घटेको बजारलाई बजारलाई आगोमा घिउँ थपेको जस्तो भएको छ ।

अहिले सूचिकृत कम्पनीले लाभांश दिएको हुँदा विगतमा पनि स्वभाविक रुपले बजार घट्ने क्रममा हुन्थ्यो । तर,अर्थमन्त्रीको अभिव्यक्तिले लगानीकर्ता आत्तिएको हुँदा चलखेल गरेर बजार घटाउनेहरु अझै बढ्ने अनुमान विश्लेषकको छ ।


क्लिकमान्डु