सलमान खानको भ्रमण स्थगित हुँदा देशले गुमाएको एउटा अवसर



काठमाडौैं । दुई तिहाई बहुमत लिएर सरकारको नेतृत्व गर्न आएका प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई पहिलो महिना नपुग्दै कम्युनिष्ट पार्टीले नै असफल पार्ने देखिएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको तीन साता पुग्न लागेको छ । उनलाई असफल बनाउनेहरूकाे अग्र पंतीमा  कम्युनिष्ट राजनीति गर्ने नेत्रबिक्रम चन्द‘बिप्लव’ देखिएका छन् ।

ओलीको दल नेकपा एमाले र माओवादी केन्द्रले निर्वाचन अगाडि नै चुनावी तालमेल गर्दै पार्टी एकतामा जाने घोषणा गरे। जनतासँग दुईतिहाई बहुमत मागेको बाम गठबन्धनलाई जनताले सो अनुसारको मतपनि दिए ।

अब ओली र प्रचण्डको दल एक महिनाभित्र एकीकरण गर्ने घोषणा भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले क्रान्तिलाई बिर्सजन गरेको भन्दै उग्र कम्युनिष्ट राजनीतिको वकालत अहिले बिप्लवले गरेका छन् । उनी कुनैबेला प्रचण्डका सहयात्री थिए ।

ओडिसी इन्टरनेशनले आगामी मार्च १० तारिकका दिन बलिउड अभिनेता सलमान खानलाई नेपालमा एउटा कार्यक्रमको लागि ल्याउन लागेको थियो ।

खानको ‘दबंग द टुर’ १० मार्चमा काठमाडौंमा हुने तय थियो । टुँडिखेलमा हुने शोमा अभिनेत्री सानोक्षी सिन्हा, प्रभु देवा, मनिष पल लगायतका कलाकार पनि उपस्थित हुने भनिएको थियो ।

तर, बिप्लवको दल नेपाल कम्युनिष्ट पार्टीले सलमान खानसहित भारतीय कलाकारलाई ल्याएमा जेपनि हुने धम्की दिएपछि बलिउडका दबंग खानको भ्रमण स्थगित भएको छ ।

बिप्लवको धक्कीले खानको भ्रमण स्थगित भएपनि यसको घाटा भने नेपाललाई नै भएको छ । आयोजकले कार्यक्रम प्रमोसनका लागि गरेको खर्चको हिसाब छाड्ने हो भने यसले नेपालको पर्यटन क्षेत्रलाई भने धक्का दिएको छ । खान सहितकाे टाेलीकाे भ्रमण स्थगित हुनुले नेपालमा सुरक्षा चुनाैति रहेकाे सन्देश संसारभर गएकाे छ ।

नेपालले विगतका वर्षदेखि लिदै गरेकाे वार्षिक १० लाख पर्यटक ल्याउने लक्ष्य गत वर्ष करिब पुगेको थियो । पछिल्ला वर्ष होटल क्षेत्रमा बढेको लगानीले पर्यटन क्षेत्रले विस्तारै बिजनेश बढाउँदै थियो ।

२०७२ सालमा भारतले नाकाबन्दी लगाएको हुँदा नेपालमा भारतीय कलाकार ल्याउन नहुँने बिप्लवको भनाई केहीलाई ठिक लागेको होला । कतिलाई खानको नेपाल भ्रमण स्थगितले केहीपनि असर नगर्ने लागेको होला ।

सलमान खान नेपाल भ्रमणमा आउँदा उनी काठमाडौंका केही स्थानको भ्रमणमा जाने थिए । उनको पूर्वनिर्धारित कार्यक्रममा चन्द्रागिरी लगायतका केही ठाउँमा पुग्ने थियो । उनी त्यो ठाउँ जाँदा आफ्नो सामाजिक सन्जालमा फोटो पोस्ट गर्ने थिए ।

उनको अफिसियल ट्वीटर एकाउन्टमा मात्र  ३ करोड १६ लाख फ्लोअर छन् । यस्तै फेसबुक पेजमा ३ करोड ५७ लाखले लाइक गरेका छन् । उनले नेपाल भ्रमणमा आएर आफ्नो सामाजिक संजालमा राख्ने तस्बीरले केही केही भएपनि नेपालको पर्यटन प्रवद्र्धनमा सहयाेग गर्ने थियो ।

सलमान खानलाई नेपालमा भित्र्याउन लागेको कम्पनी ओडिसी नेपालले पैसा कमाउनलाई नै कार्यक्रम गरेको हो । व्यवसाय गर्ने भनेको पैसा कमाउनको लागि नै हो । चाहे त्यो मिडियामा गरिने लगानी होस् या उद्योगधन्दा खोलियोस या अरु कोही । बैश्य युग पैसा कमाउनको लागि हो ।

बिप्लवले गरेको अर्को तर्क भारतले गरेको नाकाबन्दीको कारण भारतीय कलाकारलाई नेपाल आउन नदिनु भन्ने छ । त्यसमा समाजका केही बुझेका भनिएका पनि सहमत देखिए ।

नेपालमा संविधान अाएपछि भारतले हामीलाई नाकाबन्दी लगाएर हेपेको हो । र, हामी हेपिनुको कारण भारतसँगको परनिर्भरता हो । भारतबाट मात्र यो आर्थिक वर्षको पुस मसान्तसम्ममा ३ खर्ब ५२ अर्बको रुपैयाँको सामान भित्रिएको छ ।

भात र तरकारी खानमात्र हामीले २० अर्ब रुपैयाँ भारतलाई तिरेका छौ । यो रकम खाडी तथा मलेसियामा काम गर्ने हाम्रै नेपालीले पठाएको रकम हो ।

नेपालमा भारतीय चलचित्रले वार्षिक अर्बाैं रकम लगेका छन् । जबसम्म हामी परनिर्भर भइरहन्छौं, कुनै न कुनै रुपमा भारतले हेपिरहन्छ ।

हामी आत्मनिर्भर रहनको लागि देशमा रोजगारी सिर्जना हुनपर्यो । आयात घट्नुपर्यो, विदेशी मुद्रा भित्रनुपर्यो । भारतको औद्योगिक क्षेत्रसँग प्रतिस्पर्धा गर्न सक्ने हाम्रो क्षमता छैन । यसको लागि हामीले गर्न सक्ने काम जलविद्युतसँगै पर्यटक भित्राउनु हो ।

नेपाल घुम्न आउने पर्यटकमा ठूलो हिस्सा हाम्रै छिमेकी भारत र चीनको छ । आर्थिक रुपले बलियो हुँदै गएको भारतमा मध्यमवर्ग उदाउँदै छ । जसले घुम्नको लागि बर्सेनि ठूलो रकम खर्च गर्छ । हात्ती हेर्न अफ्रिका पुग्ने भारतीय पर्यटकलाई नेपाल आकर्षण गर्न सक्ने कमाउने हामीले नै हो ।

कुनैपनि देशको नागरिक नेपाल आउने भनेको ठूला नेता तथा सेलीब्रेटीको भ्रमणले नै हो । पहिलो पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमण आएपछि नेपाल आउने भारतीय पर्यटक बढे । तर,उनको नीतिले लगाएको नाकाबन्दीले हामीलाई धेरै दुःख भयो ।

भारतले गल्ती गरेको हो । उ आफ्नो नीति सच्चाउन चाहेको छ। जुन कुरा होली खेल्न भारतीय राजदूत प्रधानन्त्री निवासमा पुगेको कुराले पुष्टी गर्छ । हामीलाई लगानी चाहिएको छ पर्यटक भित्राएर हाम्रो ढुकुटीलाई बलियो बनाउनु छ ।

अब लगानीपनि चाहिदैन भने भएका सबै विदेशी लगानीका कम्पनी बन्द गरे भयो । भारतीय च्यानल आउने केबल तथा डिटिएच बन्द गरे भयो ।


क्लिकमान्डु