सिभिल बैंकलाई किन पत्याएनन् आफ्नै संस्थापकले ?



काठमाडौं । सिभिल बैंकले जारी गरेको ४० प्रतिशत हकप्रद सेयरमा आफ्नै संस्थापक सेयरधनीले विश्वास नगरेको देखिएको छ ।

बैंकले गत मंसिर २७ देखि ४० प्रतिशत हकप्रद बिक्री खुल्ला गरेको थियो । तर, तोकिएको अवधीमा बैंकको हकप्रदमा संस्थापक सेयरधनी नै थप लगानी नगरेको देखिएको छ ।

बैंकले जारी गरेको सूचना अनुसार ४० प्रतिशत हकप्रद सेयरमा ३२ लाख ४४ हजार ६०० कित्ता संस्थापक सेयर तथा ९ लाख ५४ हजार ३५८ कित्ता साधारण सेयर बिक्री भएन ।

बैंकमा संस्थापक सेयरधनीको स्वामित्व ५१ प्रतिशत र सर्वसाधरणको ४९ प्रतिशत स्वामित्व छ ।

बैंकले ४० प्रतिशतको दरले २ अर्ब ७ करोड ४० लाख रुपैयाँको हकप्रद सेयर निष्कासन गरेको थियो ।

जसमा संस्थापकले १ अर्ब ५ करोड रुपैयाँ हकप्रद मार्फत लगानी गर्नुपर्ने थियो । सर्वसाधरणले १ अर्ब १ करोड रुपैयाँ हकप्रदमा लगानी गर्नुपर्ने थियो ।

जसमा संस्थापकले लगानी गर्नुपर्ने ३२ करोड ४४ लाख रुपैयाँ हकप्रदमा लगानी गरेनन् । यो रकम संस्थापकले हकप्रदमा हाल्नुपर्ने ३० प्रतिशत रकम लगानी नगरेको देखिन्छ ।

सर्वसाधरण सेयरधनीले ९ करोड ५४ लाख रुपैयाँ हकप्रद मार्फत लगानी गर्नुपर्ने रकम लगानी गरेनन् । यो रकम सर्वसाधरण सेयरधनीले हकप्रदमा हाल्नुपर्ने करिब ९ प्रतिशत मात्र लगानी नगरेको देखिएको छ ।

सर्वसाधरणले हकप्रदमा हाल्नुपर्ने रकममा ९ प्रतिशत रकम मात्र नआउनुलाई स्वभाविक मान्न सकिएपनि संस्थापकले भने बैंकलाई विश्वास नगरेको प्रष्ट देखिन्छ । कुल लगानी गर्नुपर्ने रकममा ३० प्रतिशत संस्थापकबाट आएको छैन ।

बैंकले बिक्री नभएको हकप्रद सेयर लिलामीबाट भर्ने प्रक्रिया सुरु गरिसकेको छ ।

४० प्रतिशत हकप्रदपछि सिभिलको चुक्ता पुँजी ७ अर्ब २५ करोड ९३ लाख पुग्ने छ । केन्द्रीय बैंकले तोकेको चुक्ता पुँजीमा करिब ७४ करोड रुपैयाँ कमी हो । पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको रिजर्बमा १ अर्ब ७३ करोड रुपैयाँ छ । जस अनुसार अपुग पुँजी भने अघिल्लो वर्षको नाफाबाट दिने बोनसबाट पुर्याउन भने कठिन हुँदैन  ।

बैंकमा ठूलो अनुपातमा संस्थापक सेयरधनीले लगानी नगर्नुको कारण यसबाट आउने प्रतिफल र संस्थापक सेयरधनीले सहजै सेयर बिक्री गर्न नसक्ने पनि एउटा प्रमुख कारण हो ।

हकप्रद सेयरमा लगानी गर्दा सम्पत्तीको स्रोत खोजिने तथा ४० प्रतिशत थप लगानी गर्नु संस्थापक सेयरधनीको लागि कठिन हो ।

पुस मसान्तसम्मको वित्तीय विवरण अनुसार बैंकले २१ करोड ६९ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकको निक्षेप ३६ अर्ब ५० करोड रुपैयाँ छ । बैंकले ३३ अर्ब ५५ करोड रुपैयाँ कर्जा दिएको छ ।

बैंकले नोक्सानी व्यवस्थाको लागि ३९ करोड रुपैया छुट्याएको छ । बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता अभावको कारण महंगो ब्याजदरमा निक्षेप उठाउनुपर्ने बैंकको लागत बढेको छ । जसले बैंकले नाफा कमाउन सकेको छैन ।

हकप्रदको बुक क्लोजपछि सिभिल बैंकको सेयर मुल्यपनि कारोबार भएको दिन हरेक दिन घट्दो क्रममा रहेको छ । बुधवारको सिभिलको सेयर मुल्य प्रतिकित्ता १६१ रुपैयाँमा झरेको छ ।


क्लिकमान्डु