गभर्नर हुँदै युवराज खतिवडाले यसरी सुनाएका थिए अर्थमन्त्री बन्ने सपना



काठमाडौं । गभर्नरमा बहाल हुँदै डा. युवराज खतिवडाले अर्थमन्त्री बन्ने सपना साँचेका थिए । भित्रभित्रै लामो समय एमालेको राजनीतिमा सक्रिय भएका खतिवडाले पार्टीबाट पर्याप्त अबसरहरु प्राप्त गर्न सफल पनि भए ।

दुई पटक योजना आयोगको उपाध्यक्ष र एक पटक राष्ट्र बैंकको गभर्नर भइसकेका खतिवडा सोमबार अर्थमन्त्रीमा नियुक्ति भएका छन् । केपी ओली एमाले अध्यक्षमा निर्वाचित भएपछि ओलीसँग घनिष्ट सम्बन्ध राख्न सफल भएका उनले जीबनभर सक्रिय राजनीति गरेका ठूला नेतालाई पछि पार्दै अर्थमन्त्रीमा बाजी मारे ।

यो पंतिकारले डा. खतिवडालाई दर्जनौं पटक भेटेको छ । धेरैवटा अन्तर्वार्ता पनि गरेको छ । तर, २०७१ फागुन ५ गते बिहान खतिवडा निवास धुम्बाराहीमा भएको भेट भने निकै अविस्मरणीय छ ।

उक्त दिन डा. खतिवडाले एउटा सपना सुनाएका थिए । र, पंतिकारले छापेको थियो । संभवत नेपाली मिडियामार्फत् पहिलोपटक डा. खतिवडाको त्यस्तो सपना सार्वजानिक भएको थियो । जुन अहिले साकार भएको छ ।

२०७१ चैत ५ गतेदेखि डा. खतिवर्डाको गभर्नरको कार्यकाल सकिँदै थियो । सामान्यतया कार्यकाल सकिनु एक महिना अघिबाटै बिदा बस्ने चलन थियो । तर, उनी बिदा बसेनन् ।

 ०४१ साल चैतमा राष्ट्र बैंकमा जागिर सुरु गरेका खतिवडाले ०४३ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए । ओलीको गृहजिल्ला झापा स्थायी घर भएका खतिवडाले अन्तत: ओलीलाई रिझाउन सके । र, अर्थमन्त्री बन्ने आफ्नो सपना पूरा गरेरै छाडे ।

उनी विदा बस्छन् भन्ने सोचले नै उनको कार्यकालको समीक्षा गर्दै भावी दिनको योजना के छ ? भनेर जान्ने उद्देश्यले समय लिएर यो पंतिकार एकबिहानै खतिवडा निवास पुगेको थियो ।

तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले संविधान जारी गरेपश्चात एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्ने र भद्र सहमति भएको थियो । एमालेवृत्तमा त्यसबेलै ओली सरकारको अर्थमन्त्री डा. खतिवडा बन्न सक्ने गाइँगुइँ चल्न थालेको थियो । त्यस्तो चर्चा चलिरहेका बेला खतिवडा स्वयंले अब आफू सक्रिय राजनीतिमा लाग्ने घोषणा गरेका थिए ।

‘योजना आयोगको उपाध्यक्ष पनि भएँ । गभर्नर पनि भएँ, अब तपाई नै भन्नुहोस्, म पत्रिकामा लेख लेख्दै बसूँ ? कि काम नगरी खाली बसूँ वा, राजनीतिमा जाउँ ?’ खतिवडाले पंतिकारसँग भनेका थिए-  ‘आफूले प्राप्त गरेको ज्ञान र क्षमता राष्ट्र विकासमा लगाउन त कुनै न कुनै रुपमा राजनीतिमा रहनैपर्‍यो नि, होइन र ?’

खतिवडाले भनेका थिए ‘यत्ति बुझ्नुहोस्, झापा गएर प्रत्यक्ष चुनाव लड्ने पक्षमा छैन । अरु बाटोबाट राजनीतिमा सक्रिय हुन्छु ।’

राजनीतिमा नलागी आफूले प्राप्त गरेको ज्ञान र क्षमता राष्ट्र निर्माणमा लगाउन नसकिने उनको ठहर थियो । यद्यपि कसरी राजनीतिमा जाने भन्ने निर्णय भने गरिनसकेको सुनाएका थिए उनले ।

‘राजनीतिमा जाने निश्चत हो तर, सक्रिय राजनीतिमा जाने कि नजाने भनेर निर्णयचाहिँ गरिसकेको छैन,’ खतिवडाले भनेका थिए ‘यत्ति बुझ्नुहोस्, झापा गएर प्रत्यक्ष चुनाव लड्ने पक्षमा छैन । अरु बाटोबाट राजनीतिमा सक्रिय हुन्छु ।’

मन्त्रिपरिषद अध्यक्ष चलाएका खिलराज रेग्मी र पूर्वअर्थमन्त्री शंकर कोइरालाले पनि राजनीति नगरी सरकारको नेतृत्व गरेको स्मरण गर्दै खतिवडाले यदि राज्यले आवश्यक ठाने उचित जिम्मेवारी लिन आफू तयार रहेको बताए ।

‘यसअघि पनि टेन्रोकेटहरुले मन्त्री चलाएर आफ्नो विज्ञता उपयोग गरिसक्नु भएको छ नि,’ उनले सुनाएका थिए ।

खतिवडाले भनेजस्तै गरी प्रधानमन्त्री ओलीले केही दिनअघि उनलाई राष्ट्रियसभाको सदस्यमा नियुक्ति गर्न राष्ट्रपति समक्ष सिफारिस गरे । देउवा सरकारले गरेको सिफारिस फिर्ता गर्दै ओलीने नयाँ नाम सिफारिस गरेपछि सर्वोच्च अदालता मुद्दा परेको थियो ।

अदालतले खतिवडासिहतका ३ जनालाई सांसद बनाउने कार्य तत्काल कार्यान्वयन नगर्नु भन्ने आदेश दिइसकेको छ । यद्यपि यही फागुन २० गते छलफल गरी फैसला गर्ने जनाएको छ ।

सन् १९५६ मा जन्मिएका खतिवडाले ३१ वर्षअघि नै कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए । ०४१ साल चैतमा राष्ट्र बैंकमा जागिर सुरु गरेका खतिवडाले ०४३ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए । राष्ट्र बैंकमा रहँदा नै डा. भीम न्यौपाने, केशव आचार्य र युवराज खतिवडाले पहिलोपटक कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए ।

खतिवडालाई माधव नेपाल नेतृत्वको सरकारले ०६६ साल चैत ६ गते राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको थियो । माधव नेपाल सरकारकै योजना आयोगको उपाध्यक्ष छाडेर खतिवडाले गभर्नरमा नियुक्ति लिएका थिए ।

एमालेमा अर्थतन्त्रलाई जरैदेखि बुझ्ने विज्ञ व्यक्तिको खाँचो थियो । त्यसमाथि एमाले अध्यक्षसमेत रहेका ओलीले ०७२ कात्तिकमा बनेको सरकारमै खतिवडालाई ओलीसँग आफूलाई अर्थमन्त्री बनाउन लबिङ गरेका थिए । तर, ओलीले विष्णु पौडेललाई अर्थमन्त्री बनाए र बेला खतिवडालाई फेरि योजना आयोगको उपाध्यक्ष बनाए ।

‘कुनैपनि प्रकारका राजनीतिक नियुक्त लिने मेरो सोच थिएन । तर, अर्थतन्त्र सुधारका लागि योजना आयोगबाट धेरै नीतिगत कामहरु गर्न बाँकी नै छन् । जसको नेतृत्व तपाईले गर्नुपर्छ भन्ने राजनीतिक नेतृत्वबाटै दबाब आएपछि उपाध्यक्ष पद स्वीकार गरेको हुँ ।’ सरकारले योजना आयोगको उपाध्यक्षमा नियुक्ती गरेलगत्तै उनले भनेका थिए ।

त्यसबेला अर्थमन्त्री बन्ने चाहाना पूरा नभएपछि खतिवडा ओलीसँग झन निकट सम्बन्ध राख्न थाले । एमालेका आर्थिक नीति, घोषणापत्र लगायत बनाउन उनै खतिवडाले सक्रिय भूमिका निर्वाह गरे । ओलीको गृहजिल्ला झापा स्थायी घर भएका खतिवडाले अन्तत: ओलीलाई रिझाउन सके । र, अर्थमन्त्री बन्ने आफ्नो सपना पूरा गरेरै छाडे ।


क्लिकमान्डु