गगनसहितका नेताले सुरु गरे कांग्रेस पुनर्जागरण अभियान



काठमाडौं ।निर्वाचनमा पराजय भोगेपछि नेपाली कांग्रेसका युवा नेताहरुले प्रजातन्त्र दिवसको अवसर पारेर सोमबारबाट नेपाली कांग्रेस पुनर्जागरण अभियान सुरु गरेका छन् । नेपाली कांग्रेसका युवा नेता गगन थापा, चन्द्र भण्डारी लगायतकाले देशव्यापी अभियान सञ्चालन गर्ने घोषणा गरेका हुन् ।

चुनाब हारेपछि पार्टीमा क्राइसिस आउँदा कार्यकर्तामा उत्साह गराएकाले पुनर्जागरण अभियान सुरु गरेको कांग्रेस नेता गगन थापाले बताए ।
‘हाम्रो अभियान नेता विरुद्ध होइन,’ थापाले भने, ‘गुटवन्दीका लागि होइन, सैद्धान्तिक ब्याख्या, सांगठनिक ढाँचा, नेतृत्व र पार्टी सञ्चालनको शैलीमा आत्मविश्वास र जनताको विश्वासलाई पुनस्स्थापित गर्न हो ।’ थापाले पार्टी भित्र ठूलो उथलपुथल ल्याउनु पर्ने बताए ।

कांग्रेसकै नेतृत्वमा सात दशकदेखि नटुङ्गिएको एउटा महत्वपूर्ण अध्यायको दायित्व पूरा हुनु कांग्रेसको राजनीतिक विजय भएको थापाले बताए ।

‘चुनाव हारेको मात्र होइन कांग्रेसजनमा उत्साह हराएको छ, आत्मबल कमजोर भएको छ, नेतृत्वप्रति गहिरो आक्रोस छ,’ थापाले भने, ‘जनताको विश्वास फर्काउन आफु वदलिने र देशको मुहार बदल्ने सपना र संकल्प देखाउन सक्नुपर्छ ।’ यो अभियान सवै प्रदेश, जिल्ला र स्थानिय तहमा सञ्चालन गर्ने बताए ।

पुनर्जागरण अभियान घोषणा गर्दै अर्का नेता चन्द्र भण्डारीले अब गुट–उपगुटबाट माथि उठेर संगठन सदृढीकरण अभियान सुरु गरेको बताए । ‘सबै प्रकार चुनौती सामान गर्न तयार हुनुपर्छ,’ भण्डारीले भने, ‘पार्टीलाई नयाँ ढंगबाट अघि बढाउन अभियान सुरु गरेको हो ।’

कांग्रेस नेता गुरु घिमिरेले अहिलेको पार्टी सञ्चालन शैलीले चुनौती पार नहुने बताए । ‘यो अभियान कुनै नेताको नभई कांग्रेसको हो,’ घिमिरेले भने, ‘राजनीतिक पाठ्यक्रम फेरिएकाले कांग्रेसले पनि आँफूलाई परिमार्जन गर्नुपर्छ ।’

अभियान घोषणा कार्यक्रममा धनराज गुरुङ, प्रदिप पौडेल, रामहरी खतिवडा लगायतले पार्टीलाई नयाँ सिराबाट अघि बढाउनु पर्ने धारणा राखे ।

कार्यक्रममा पूर्व सांसद सारदा पौडेल ,दिपक कुईकेल, सांसद धना खतिवडा, कांग्रेस अर्घाखाँचीका सभापति बिष्णु मुस्कान ,रोल्पाका सभापति अमर पुन, सिन्धुपलान्चोकका सभापति विकास लामा, संखुवासभाका सभापति दिपन कुमार श्रेष्ठ, हुम्लाका सचिव मोहन विक्रम सिंह, होमनाथ पुरुषोत्तम दाहाल, रिता खनाल लगायतले पनि आफ्नो धारणा राखेका थिए ।


पुष्प दुलाल