अन्ततः बन्द हुने भयो केबल टिभी, सर्बोच्च भन्यो सरकारको निर्णय ठिक



काठमाडौं । सर्बोच्च अदालतले एनालग टिभी बिस्तापन गर्दै डिजिटल टिभी सिग्नलमात्र वित्तरण गर्ने निर्णयलाई कार्यन्वयन गर्ने बाटो खोलिदिएको छ ।

हिजो आइतबार न्यायाधीशद्धय चोलेन्द्र शमसेर जबरा र प्रकाशमानसिंह राउतको संयूक्त इजलासले यसअघि दिइएको अन्तरिम आदेश खारेज गरेसँगै सरकारको निर्णय कार्यन्वयनमा बाटो खुलेको हो ।

यसअघि न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले सरकारको नाममा एनलग टिभी बन्दगर्ने निर्णय कार्यन्वयन नगर्नु भन्ने अन्तरिम आदेश जारी गरेको थियो ।

तर, आइतबारको संयुक्त इजलासले पटक पटक सरकारले जनतालाई सुचना दिएर बन्दगर्ने प्रक्रिया अंगालेकाले अब यसलाई रोकिराख्नु नपर्ने निर्णय सुनाएको हो ।

यसअघि सूचना तथा संचार मन्त्रालयले सूचना जारी गरेर काठमाडौं, ललितपुर, पोखरा, विरगन्ज र बिराटनगरमा २०७४ बैशाख १५ देखि केबल लाइनबाट टेलिभिजन हेर्न पाइने जनाएको थियो ।

‘बैशाखदेखि काठमाडौंमा यो व्यवस्था लागू हुनेछ । यस्तै अन्य चार सहरमा कात्तिकदेखि र देशभर भने २०७५ सालबाट यो व्यवस्था लागू हुनेछ’ भन्ने सरकारको सुचनामा उल्लेख थियो ।

यो व्यवस्था लागू भएपछि हरेक टेलिभिजन हेर्नको लागि छुट्टै सेटअप बक्स जोड्नुपर्छ । यसले केबल व्यवसायको आम्दानी पनि बढाउने छ भने सरकारलाई पनि राजस्व बढाउने छ ।

सरकारले विदेशी डीटीएचलाई विस्थापित गरी नेपाली टेलिभिजन सेवाप्रदायक कम्पनीलाई नियमन गर्न डिजिटल प्रणालीमा लानलागेको जनाउँदै आएको छ ।
विदेशी डीटीएच प्रणाली अवैधरुपमा नेपाल भित्रिने हुनाले यसको प्रत्यक्ष प्रभाव कर संकलन तथा नेपाली व्यवसायीहरूलाई पर्ने गरेको छ । यसलाई नियन्त्रण गर्न र केबलमार्फत् च्यानल सेवा सञ्चालन गरिरहेकालाई नियमन गर्न पनि डिजिटलमा जानुपर्ने थियो ।

अन्तर्राष्ट्रिय दूरसञ्चार संगठनले सन् २०२० सम्म विश्वका हरेक मुलुक डिजिटलाईजेशनमा गइसक्नुपर्ने तथा त्यस देशका प्रसारण संस्थाहरूको सिग्नल पनि डिजिटल हुनुपर्ने समयावधि तोकेको छ । संगठनले अतिकम विकसित मुलुकहरूलाई उक्त समयावधिसम्म टेलिभिजन प्रसारण सिंग्नल डिजिटल हुनुपर्ने समय तोकेको छ । जसको आधारमा नेपाल पनि डिजिटल प्रविधिमा जानै पर्ने बाध्यता थियो ।

के हो डीटीएच
डाइरेक्ट टु होम प्रविधि अन्तर्गत फ्रिक्वेन्सी सिग्नललाई डिस एन्टेना र सेटअप बक्सका माध्यमबाट सिधै घरको टेलिभिजनसम्म पुर्याइन्छ । स्याटलाइटमार्फत् आएको रेडियो सिग्नललाई कुनै हब हुँदै सेटअप बक्समा डाउन लिङ्क गर्ने प्रविधि नै डीटीएच हो । यसका लागि एउटा एन्टीना घरको छतमा र घरभित्र रिसिभर राखेपछि आफूले पैसा तिरेर हेर्न चाहेको च्यानल टेलिभिजनमा हेर्न सकिन्छ ।


क्लिकमान्डु