फागूनभित्रै ललितपुरका सडक जतात्यतै ‘वान वे’ !



काठमाडौं । ललितपुर महानगरपालिकाले महानगरभित्रका दर्जनौ सडकलाई ‘वान वे’ बनाउने भएको छ । ट्राफिक जामले महानगरबासीको जनजिबन अस्तव्यस्त हुन नदिन सडकलाई व्यवस्थित गर्न लागिएको महानगरका मेयर चिरिबाबु महर्जनले जानकारी दिए ।

‘महानगरभित्र सडकको व्यवस्थापन नहुँदा सर्वसाधारणले दुख पाएको गुनासो गरेपछि हामी सडक व्यवस्थापन गर्न लागेका हौं,’ मेयर महर्जनले क्लिकमाण्डूसँग भने ‘वान वे पनि सडक व्यवस्थापनको एउटा महत्वपूर्ण नीति हो । त्यसैले दर्जनौं ठाउँलाई वान वे घोषणा गर्दैछौं ।’

महानगरभित्र सयौंको संख्यामा सडकहरु छन् । कुन–कुन सडकलाई वान वे बनाउने भनेर अध्ययन गर्न ट्राफिक प्रहरीसमेतको संलग्नतामा बनाइएको कमिटिले प्रतिवेदन पनि बुझाइसकेको उनले जानकारी दिए ।

‘कमिटिले बुझाएको प्रतिवेदनमाथि हामी छलफलका क्रममा गर्छौं । र, कार्यपालिकाको बैठकमार्फत् फागुनभित्रै कडाइका साथ कार्यान्वयन गर्छौं,’ महर्जनले भने ।

अहिले काठमाडौंका विभिन्न सडकहरु वान वे भए पनि छिमेकी ललितपुरमा भने वान वे घोषणा गरिएका सडक छैनन् । तर, बढ्दो सवारी चापका कारण भित्रि र बिजी सडकलाई वान वे घोषणा गर्नु परेको महर्जनले बताए ।

स्पीड ब्रेकरमुक्त ललितपुर

महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका स्पिड ब्रेकर हटाउन थालेको छ । सवारीको गति नियन्त्रण गर्न बनाइएको भए पनि स्पिड ब्रेकरका कारण दुर्घटना बढेको भन्ने जनगुनासो आएपछि महानगरले स्पिड ब्रेकर हटाउन थालेको उपमेयर गिता सत्यालले जानकारी दिइन् ।

ट्राफिक प्रहरीले पनि मेयरलाई स्पिड ब्रेकरका कारण भित्री सडकमा दैनिजसो दुर्घटना हुने गरेको ‘ब्रिफिङ’ गरेको छ ।

‘हामी अहिले पुराना स्पिड ब्रेकर हटाइरहेका छौं र नयाँ बन्ने र मर्मत हुने सडकमा स्पिड ब्रेकर राखिने छैन,’ उनले भनिन् ।

त्यसका अलावा सडकमा बत्ति राख्ने, ट्राफिक संकेतहरु राख्ने लगायतका काम पनि गर्न लागिएको उनले बताइन् ।

‘हामी जनताबाट निर्वाचित भएर आएका जनप्रतिनिधिले जनताको दुखलाई सम्बोधन गर्ने हो, महानगरका सडक व्यवस्थित नहुँदा जनताले दुखा पाएको गुनासो गरेका थिए,’ उनले भनिन्, ‘त्यसैले हामी सडक व्यवस्थित गर्न लागि परेका हौं ।’


पुष्प दुलाल