को बन्लान् ओली सरकारका गृहमन्त्री, अर्थमा होला त प्रदिप ज्ञवालीको इन्ट्री ?



काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली नेपालको प्रधानमन्त्रीमा निर्वाचित भएको ३ दिन भएको छ । नेकपा (माओवादी केन्द्र) सँग एकता प्रक्रिया अगाडि बढेका कारण यही सोमबारसम्म एकता प्रक्रिया एउटा सार्थक निष्कर्षमा पुग्ने विश्वास गरिएको छ ।

एकता प्रक्रियालाई निष्कर्षमा पु¥याएर सरकार विस्तार गर्ने तयारीमा एमाले र माओवादी केन्द्र रहेका छन् । यस्तो अवस्थामा सरकारको महत्वपूर्ण मन्त्रालय तथा निकायमा पनि सहमतिमा नै उपयुक्त व्यक्ति चयन गरिने दुई दलका शीर्ष नेताले बताउँदै आएका छन् ।

पछिल्लो दिनमा पार्टी एकता प्रक्रियामा निरन्तर लागेकाले गृहमन्त्रीमा पूर्व गृहमन्त्री जनार्दन शर्मा दोहोरिने सम्भावना रहेको बताइएको छ । ऊर्जा मन्त्री भएर लोडसेडिङको अन्त्य गरेको र निर्वतमान सरकारमा पनि गृह मन्त्री भएर केही समय सकारात्मक काम गरेको भन्दै शर्मालाई गृह मन्त्री बनाउन सकिनेमा दुई दलका नेता सहमत भएका छन् ।

यस्तै गृहमन्त्रीमा पूर्वअर्थमन्त्री वर्षमान पुनले समेत दावी पेश गरेका छन् । एकता प्रक्रियालाई भित्री तहमा बसेर सहयोग गरेकाले पुन पनि अर्को सशक्त उम्मेदवार रहेको बताइन्छ । तर ओली स्वयम् भने पुनको पक्षमा त्यति सकारात्मक नरहेको बताइन्छ ।

वरिष्ठ नेता नै खोजिने सन्दर्भमा भने उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयमा कृष्णबहादुर महराको सम्भावना पनि उत्तिकै रहेको छ । तर पटक पटक मन्त्री बनेका र माओवादी भित्र विजय गच्छदार प्रवृत्ति भनेर चर्को आलोचना भएका कारण महराको सम्भवना कम रहेको एमाले र माओवादी भित्रै पनि टिप्पणी हुने गरेको छ ।

गृहन्त्रालय पाए आफू पनि तयार रहेको भन्दै पूर्व उपप्रधानमन्त्री एवम् ऊर्जा मन्त्री टोपबहादुर रायमाझी र पूर्व गृह मन्त्री शक्ति बस्नेतले पनि अनौपचारिक रुपमा बताउने गरेका छन् । सकेसम्म कामकाजी व्यक्तिलाई गृह मन्त्री बनाउने पक्षमा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहमत छन् ।

सरकारको कामकारवाही वस्तुनिष्ट बनाउन र संघीयता कार्यान्वयन प्रहरी प्रशासनको व्यवस्थापन तथा संघीय प्रहरी खडा गर्ने सन्दर्भमा पनि द्रुत निर्णय गर्न सक्ने क्षमता भएका उपयुक्त व्यक्ति छनौट गरिने दुई दलका शीर्ष नेताका्े मतैक्य रहेको छ ।

एमाले भित्र पनि गृह मन्त्री बन्न शेरबहादुर तामाङ, कृष्णभक्त पोखरेललगायतले इच्छा व्यक्त गरेका छन् । तर पार्टी एकताको भावलाई सम्प्रेषण गर्न पनि माओवादी केन्द्रका नेतालाई नै गृह मन्त्री बनाउनुपर्ने ओलीको बाध्यता रहेको छ । सोमबारसम्म एकता प्रक्रिया टुंग्याएर सरकार विस्तार गर्ने तयारीमा ओली रहेका छन् ।

प्रदिप ज्ञवालीलाई अर्थमन्त्री बनाउन लविङ

एमाले भित्रैबाट सचिव प्रदीप ज्ञवालीलाई अर्थमन्त्री बनाउन लविङ सुरु भएको छ । ओलीको खास मान्छेका रुपमा परिचित ज्ञवालीलाई अर्थमन्त्री बनाउनु स्वयम् ओली पनि सकारात्मक रहेका छन् ।

त्यसो त रविन्द्र अधिकारी, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र डा युवराज खतिवडा पनि अर्थमन्त्रीको लाइनमा रहेको बताइन्छ । तर अन्तिम निर्णय गर्दा अन्य कुनै पात्र पनि सतहमा आउन सक्ने एमालेकै नेताहरु पनि बताउँछन् ।


क्लिकमान्डु