ललितपुरका भित्री सडकमा बनेका स्पिड ब्रेकर हटाउँदै चिरीबाबु



ललितपुर । सवारीसाधनको गति नियन्त्रणका लागि सडकमा बनाइएका ‘स्पिड ब्रेकर’का कारण सडक दुर्घटना बढेपछि ललितपुर महानगरपालिकाले सो हटाउने भएको छ ।

स्पिड ब्रेकरका कारण भित्री सडकमा दैनिक जसो दुर्घटना हुने गरेको ट्राफिक प्रहरीले बताउँदै आएको छ । यसलाई हटाउनुपर्यो भन्दै धेरैजना नगरवासी कार्यालयमा आइरहेको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए ।

‘केही दिनपहिले एकजना त भाँचिएको हात नै लिएर आउनुभएको थियो ।’ मर्हजनले सुनाए । महानगरपालिकाका भित्री बाटोमा छोटो दूरीमा नै धेरैवटा स्पिड ब्रेकर छन् । यिनले सडक दुर्घटना बढाएका छन् ।

आगामी दिनमा नयाँ स्पिड ब्रेकर बन्न नदिने योजना महानगरपालिकाको छ । प्रमुख महर्जनले नयाँ बन्न नदिने र भएका पनि बिस्तारै भत्काउँदै जाने बताए । उनले भने, ‘हामीले कतिपय भत्काइसकेका छौं र कति भत्काउने क्रममा छौं ।’

महानगरपालिकावासीले सडक व्यवस्थापन नहुँदा हैरानी बेहोरेको गुनासो गरिरहेका छन् । स्थानीयवासीको गुनासो सम्बोधन गर्दै महानगरपालिका ट्राफिक प्रहरीसँगको सहकार्यमा सडक व्यवस्थापनमा लागेको छ ।

स्पिड ब्रेकर हटाउने, सडक बत्ती राख्ने, व्यस्त सडक ‘वान वे’ र पर्यटकीय स्थानमा सवारी आगमन रोक्ने काम महानगरपालिकाले गर्दैछ । सडकमा सवारी व्यवस्थापनको काम ट्राफिक प्रहरीको भए पनि संरचना निर्माणको काम स्थानीय निकायको हो । रासस


क्लिकमान्डु