मुख्यमन्त्रीले भने नारायणगढ-मुग्लिन सडक निर्माण ३ महिना पुरा गरौ



चितवन । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विकास निर्माणका काममा ढिलासुस्ती हुनुमा कानुन नै दोषी भएको बताएका छन् ।

नारायणगढ-मुग्लिन सडकखण्डको निरीक्षणपछि पत्रकारहरुसँग कुराकानी गर्दै उनले सबै क्षेत्रका कानुनहरुमा केहि त्रुटि रहेकाले अब त्यसलाई सच्चयाउनुपर्ने बताएका हुन् ।

मुख्यमन्त्री पौडेलले भने, ‘कहाँबाट भ्रष्टाचार गर्ने हो, बाटोहरु कानुनले नै खोलिदिएको छ ।’

‘सबै कुरा गएर पैसामा अडिएको छ,’ उनले भने, ‘लेनदेनकै कारण यी सबै भएको हो, त्यसैले कानुनलाई परिवर्तन नगरेसम्म परिवर्तनको अनुभूति दिलाउन सकिदैन् ।’

‘जे जस्तो समृद्धिको कुरा गरिरहेका छौं, विधमान कानुनबाट त्यो सम्भव देखिएको छैन,’ भन्दै त्यस्ता कानुन प्रदेशसभाले परिवर्तन गर्ने तर त्यो परिवर्तन आजको भोलि नभएर केही समय लाग्ने मुख्यमन्त्री पौडेलले बताए ।

सडक विस्तारको काममा ढिलाइ भइरहेकाप्रति इङ्गित गर्दै उनले मिति थप्दै जाने र काम नहुने परिपाटी अन्त्य हुनुपर्नेमा जोड दिए ।

उनले भने, ‘अब फेरि पनि ३ महिनाको मिति थप्ने हो भने त्यो अन्तिम हुनुपर्छ । त्योभन्दा पनि पछि मिति थप्ने काम भयो भने त्यो राम्रो हुँदैन ।’

एकले अर्कोलाई दोष दिएर काममा ढिलाइ गर्न नपाइने बताउँदै मुख्यमन्त्री पौडेलले परियोजना, परामर्शदाता कम्पनी र ठेकेदार कम्पनीका प्रतिनिधिलाई समयमै काम सम्पन्न गर्न निर्देशन पनि दिए ।

निरीक्षणमा आएका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिग्राम जमरकट्टेलले कम मूल्यमा टेण्डर पार्ने प्रवृत्तिको अन्त्य नभएसम्म समयमा काम नहुने बताउँदै समयमा सडक नबन्दा जनताले दुःख पाएको र त्यसको दोषी राज्य र कानुन भएको बताए ।

सो अवसरमा आयोजनाका डिभिजनल इञ्जनियर गोविन्द खनाल, परामर्शदाता कम्पनीका आवासीय इञ्जिनियर पुष्कर रेग्मी र ठेकेदार कम्पनीका प्रतिनिधिले आआफ्नो प्रगति विवरण र समस्याका बारेमा मुख्यमन्त्री पौडेललाई जानकारी दिए ।

निरीक्षण टोलीमा प्रदेश सांसद विजय सुवेदी, दावा लामा, रिना गुरुङ, पार्वती सिलवाल पनि थिए ।

नारायणगढ–मुग्लिन सडक आयोजनाको तेस्रो पटक थपिएको मिति यसै साता सकिन लागेकाले पुनः मिति थपका लागि प्रक्रिया अगाडि बढेको छ । ३ महिना मिति थप्नका लागि विभागमा प्रस्ताव गरिएको छ ।

दुई वर्षका लागि ठेक्का दिइएको सो सडक आयोजनाको मिति ३ पटक गरी १० महिना थप गरिसकिएको छ । हालसम्म उक्त आयोजनाको ७४ प्रतिशत काम सम्पन्न भएको छ । रासस


क्लिकमान्डु