आगामी बैशाखदेखि कपाल काट्ने हजामले ड्रेस लगाउनै पर्ने



काठमाडौं । तपाईंको कपाल र दाह्री काट्ने हजामले अनिवार्य रुपमा ड्रेस लगाउनुपर्ने भएको छ । आगामी बैशाख १ गतेदेखि हजामहरुले ड्रेस लगाउनु पर्ने भएको हो ।

पेशालाई मर्यादित, व्यवस्थित र अझ व्यावसायिक बनाउन नाइ संघ नेपालले हजामलाई ड्रेस अनिवार्य गरेको हो ।

‘नाइ पेशालाइ हेयका दृष्टीले हेरीने भएकाले यसलाई सुधार गर्न नीति नै आवश्यक छ, त्यसैले २०७५ बैशाखदेखि हजामले ड्रेस लगाउनु पर्ने नीति बनाएका हौं,’ नाइ संघका अध्यक्ष राजाराम ठाकुरले क्लिकमाण्डूसँग भने ।

अध्यक्ष ठाकुरका अनुसार कपाल काट्दा हजामले अनिवार्य रुपमा माक्स लगाउनुपर्ने छ । ग्राहकको सुरक्षाका लागि कानमा कपाल नपरोस् भनेर कपास राख्नै पर्ने लगायतका व्यवस्था गर्न लागिएको हो ।

पिरामा राखेर समेत कपाल कटाउने चलन अझै कायम छ । संघले यसलाई विस्थापित गर्ने नीति लिएको पनि ठाकुरले जानकारी दिए ।

संघको नीतिअनुसार सार्वजनिक जग्गामा कपाल काट्नु गैरकानूनी मानिने छ । हजामले आफ्नो व्यवसायमा मात्र नभएर ग्राहकको सुरक्षामा समेत ध्यान दिनुपर्ने उनको भनाइ छ ।

‘ग्राकह सन्तुष्ट हुनेगरी काम गरेमात्रै यो पेशाको गरिमा अझै बढ्छ,’ उनले भने ।

ड्रेस नलगाउनेलाई संघले नै अनुगमन गरी कारबाही गर्ने उनले जानकारी दिए ।

‘कस्तो कारवाही गर्ने भनेर आगामी चैत्र २७ र २८मा बस्ने केन्द्रीय कमीटीको बैठकले निर्धारण गर्नेछ,’ उनले भने ।

देशभर लगभग १६ हजार सैलुन रहेको अनुमान गरिएको छ । एउटा सैलुनमा औषतमा १ देखि ३ जना हजाम कार्यरत रहेको संघले जनाएको छ ।


पुष्प दुलाल