यी दुई पूर्वेली युवा, जसले गाईं, भैंसी र बाख्रा पालेर गाउँमै आर्थिक क्रान्ति गरे



मोरङ । गाउँका साथीसंगी काम खोज्दै विदेश जान्थे । उनलाई पनि परिवारबाट विदेश जान दबाब त नआएको कहाँ हो र ? तर, अहँ हेमबहादुर चोङवाङ विदेश जान मानेनन् ।

अर्काको देशमा गएर रगत/पसिना बगाउनु भन्दा आफ्नै देशमा केही गर्ने सोच आयो चोङवाङमा । र, मोरङको राजघाटका युवा चोङवाङले भैंसी पाल्न थाले ।

७ वर्षअघि एक माउ भैंसीबाट पशुपाल व्यवसाय सुरु गरेका उनी अहिले गाउँकै उदाहारणीय युवा बन्न सफल भएका छन् । र, कमाइ पनि खाडी जाने साथीभाइको भन्दा बढी गर्छन् ।

‘मिहेनत गरे राम्रो पैसा कमाउन विदेश जानु पर्दैन भन्ने प्रमाणित गरेर देखाउने मन थियो, देखाउा पाएँ, खुसी छु,’ उनी भन्छन् ।

चोङवाङ अहिले मासिक १ लाख ६० हजार रुपैयाँको दुध र वार्षिक १ सय ट्र्याक्टर गोबर बिक्री गर्छन् । दैनिक १२० लिटर दूध र वार्षिक १०० ट्र्याक्टर गोबर मल बिक्री गर्दै आएको उनले सुनाए । गोबर मलको प्रतिट्र्याक्टर ३ हजार रुपैयाँ पर्छ ।

आफू स्वरोजगार बन्ने र गाउँमै रोजगारी सिर्ज गर्ने उदेश्यले उनले कुलझोडा पशुपालन तथा दुग्ध व्यवसाय प्रालिको गरेका थिए । अहिले ४ बिघा जमिनमा पशुपालन गरिरहेका छन् । कुलझोडा पशुपालन प्रालिले स्थानीय ५ जनालाई रोजगारीसमेत दिएको छ ।

चोङबाङको फार्ममा अहिले ९ माउ भैँसी र ५ माउ गाई छन् ।

कमाइ राम्रो हुनथाले पनि उनले व्यवसायलाई अझै विस्तार गरिरहेका छन् । माउ बाहेक ७ वटा बाच्छी र ६ वडा पाडी पालेका छन् उनले ।

चोङबाङ मात्रै होइन, ३ वर्ष मलेसियामा काम गरेर फर्किएका मोरङ दर्वेशा–१ का अशोक सुवेदीेले बाख्रापालन गरेर राम्रो आम्दानी गरिरहेका छन् ।
विदेशमा कमाइ नभएपछि सुवेदी रित्तो हात देश फर्किएका थिए । यतिसम्म कि सुरुमा उनीसँग बाख्रा किन्ने पैसासमेत थिएन । त्यसैले सुरुमा २ वटा बाख्राबाट बाख्रा फारम खोले । अहिले उनको फार्मममा बाख्राको संख्या १०० पुगिसकेको छ ।

उन्नत जातका बाख्रा पाल्न शुरु गरेपछि सुवेदी परिवारको आर्थिक जीवनस्तरमा सुधार आएको छ । आफू विदेशमा काम गर्न जाँदा कमाउन नसकेको र हाल बाख्रापालनबाट राम्रो आम्दानी भएको उनको भनाई छ।

सुवेदीले फारमबाट उत्पादन भएको बोका–पाठीहरु ३ महिनामा बिक्री गर्न हुने र ४ महिनामा १८ किलोसम्म पुग्ने गरेको सुनाए ।

बीउका रुपमा बाख्रा विभिन्न क्षेत्रबाट माग हुने गरेको भएता पनि माग पूरा गर्न नसकिरहेको सुवेदीको भनाइ छ ।

उनीहरु मात्रै होइन, अहिले जिल्लामा ४० युवाभन्दा बढी युवाहरु व्यावसायिक पशुपालन र दुग्ध उत्पादन व्यवसाय गर्दै आएको जिल्ला पशुसेवा कार्यालय मोरङले जनाएको छ । अहिले मोरङमा साना–ठूला गरेर ४ सय व्यावसायिक पशुफार्म सञ्चानमा छन् ।

जिल्ला पशुसेवा कार्यालय मोरङका प्रमुख डा. सुशील अधिकारीका अनुसार व्यावसायिक रुपमा १४३ वटा गाईको फार्म सञ्चालन गरिएको छ । त्यस्तै १४ भैंसी फार्म र ५ पाडा-पाडीको फार्म दर्ता छन् । त्यस्तै मोरङ जिल्लामा ७० बाख्रा, ६४ बंगुर, २० कुखुरा र ४१ वटा मिश्रित फार्म दर्ता भएको छ ।


पुष्प दुलाल