काठमाडौंमा सडक जाम कम गर्न थप २ स्थानमा ‘अन्डरपास’ बन्ने



काठमाडौं । काठमाडौंमा बढ्दै गएको सवारीसाधन जामलाई न्युकिरण गर्नका लागि थप दुई स्थानमा अन्डरपास बन्ने भएको छ । कलंकीको अन्डरपास निर्माण अन्तिम चरणमा पुग्दै गर्दा बानेश्वर र महाराजगन्जमा पनि अन्डरपास बन्ने भएको हो ।

बानेश्वरको धोवीखोला पूलदेखि बागमती पूलसम्म र चक्रपथको धुम्बराईदेखि बसुन्धारा चोकसम्म अन्डरपास निर्माण गर्न लागिएको पुल महाशाखाका सिनियर डिभिजनल इन्जिनियर प्रभातकुमार झाले जानकारी दिए ।

‘कलंकीमा अन्डरपास निर्माण हुने अन्तिम चरणमा पुगेसँग हामीमा आत्म विश्वास बढेको छ, काठमाडौंका अन्य सडकमा पनि अन्डरपास बनाउन सकिए जाम न्युनिकरण हुन्छ,’ झाले क्लिकमाण्डूसँग भने ।

धोवीखोला पुलदेखि बागमती पुलसम्मको साढे १ किलोमिटर र धुम्बाराई चोकदेखि बसुन्धारा चोकसम्म आधा किलोमिटर सडकमा अन्डरपास निर्माण गर्न लागेको हो ।

बानेश्वर चोक र महाराजगन्ज चोकको जाम छल्नका लागि यी दुई स्थानमा अन्डरपास बनाउन लागिएको हो । शंखमुल चोकबाट पुरानो बानेश्वर र महाराजगन्ज चोकबाट बुढानिकण्डतर्फ जाने सवारी साधनका लागि अन्डरपासको माथि आकाशे पुल निर्माण गरिने छ । ती सवारी साधनहरु अन्डरपास माथि निर्माण हुने आकाशे पुल भएर गुड्ने छन् ।

अन्डरपासभित्र एक्जिट वे नहुने छैनन् । एकपटक अन्डरपासभित्र सवारी साधन प्रवेश गरिसकेपछि अन्डरपासको अन्तिम विन्धुमा पुगेरमात्र सवारी बाहिर निस्किन सक्छन् । अन्डरपासभित्र प्रवेश गर्नु अघि नै सवारी साधनहरुले आफ्नो गन्तव्य तय गर्नु पर्ने हुन्छ । त्यसका लागि अन्डरपास छेउको छुट्टै सडकको प्रयोग गर्नु पर्ने हुन्छ ।

पुल महाशाखाले यी दुई स्थानमा अन्डरपास बनाउनका लागि २०७४ पुस ९ गते सम्भाव्यता अध्ययनका लागि सार्वजनिक बोलपत्र आव्हान गरिसकेको छ । सम्भाव्यता अध्ययनका लागि १३ वटा कम्पनीले आसय व्यक्त गरेको झाले जानकारी दिए ।

हाल महाशाखाले ती कम्पनीको प्राविधिक पक्षको अध्ययन गरिरहेको छ । प्राविधिक पक्ष सबल देखिएका कम्पनीहरु मध्येबाट विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) बनाउने कम्पनी छनोट गर्ने झाले जानकारी दिए ।


पुष्प दुलाल