भूकम्प पीडितलाई देउवा सरकारको अर्को राहत, चैतभरी दोस्रो किस्ता लिन पाउने



काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिले निजी आवास पुनर्निर्माणका लागि दोस्रो किस्ता लिने समयसीमा आगामी चैत्र मसान्तसम्म पु¥याउने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रवार बिहान बसेको निर्देशक समितिको बैठकले निजी आवास पुनर्निर्माणका लागि २०७४ पौष मसान्तसम्म दोस्रो किस्ता लिइसक्ने समयावधिलाई बढाएर २०७४ चैत्र ३० सम्म थप गर्ने निर्णय गरेको हो ।

बैठकलाई सम्बोधन गर्दै निर्देशक समितिका अध्यक्ष समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न चुनौतीका बाबजुद पुनर्निर्माणको काम सन्तोषजनक रुपमा अघि बढिरहेको उल्लेख गर्दै प्राधिकरणलाई धन्यवाद दिए ।

निर्देशक समिति सदस्य एवं अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भूकम्प पीडितका लागि पछिल्लो समय थप गरिएको एक लाख रुपैयाँको स्रोत व्यवस्थापनका लागि प्रयास भइरहेको उल्लेख गर्दै बिश्व बैंकले ४० अर्ब रुपैयाँ दिने सहमति भएको जानकारी गराए ।

समितिका उपाध्यक्ष भीम रावलले भूकम्पपछिको पुनर्निर्माणका लागि सत्ता पक्ष र प्रतिपक्ष नभनी सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । प्राधिकरणमा पटक-पटक नेतृत्व परिवर्तन गर्ने कार्यले भूकम्पपीडितको समस्यालाई सरकारले प्राथमिकता नदिएको हो कि भन्ने पीडितमा आशंका उत्पन्न भएकोरावलको धारणा थियो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्रमुख कार्यकारी अधिकृत युवराज भूसालले पुनर्निर्माणमा अहिलेसम्म भएका प्रगति, बजेटको अवस्था, समयसीमा बढाउनु पर्ने आवश्यकता लगायतका बिषयमा बैठकलाई जानकारी गराए ।

प्रमुख कार्यकारी अधिकृत भूसालले प्राविधिक जनशक्ति र निर्माणकर्मीको अभावका कारण पुनर्निर्माणमा चुनौती थपिएपनि तिनको सम्बोधन गर्दै निजी आवास पुनर्निर्माण लक्ष्यकोकरिब ५० प्रतिशत प्राप्त गर्ने अवस्थामा पुग्न लागेको बताए।

योजना आयोगका उपाध्यक्ष डा. स्वर्णीम वाग्लेले पहिलो दाता सम्मेलनबाट ४ खर्ब बढी रकम प्रतिबद्धतता आएकाले पुनर्निर्माणमा अपुग रकम व्यवस्थापनका लागि दोस्रो चरणको दाता सम्मेलन गर्न सकिन्छ कि भन्ने बारे छलफल भइरहेको जानकारी गराए ।

निर्देशक समितिका सदस्य तारानीधि भट्टराईले जोखिमयुक्त बस्ती स्थानान्तरणका लागि जतिसक्दो छिटो काम अघि बढाउनुपर्नेमा जोड दिए । बैठकमा निर्देशक समितिका अर्का सदस्य किशोर थापा,प्राधिकरणका सचिव मधु सुदन अधिकारी, सहसचिवद्वय राजुमान मानन्धर, कृष्णप्रसाद दवाडी लगायतको उपस्थिति थियो ।


पुष्प दुलाल