सर्बसाधारणले नकिनेपछि संस्थागत लगानीकर्तालाई एफपिओ बेच्दै बीपीसी




काठमाडौं । बुटबल पावर कम्पनीले जारी गरेको थप निस्कासन (एफपिओ) विक्री नभएपछि संस्थागत लगानीकर्तालाई विक्री गरिने भएको छ । कम्पनीले शुक्रबार सार्बजनिक सुचना प्रकाशित गरी माघ २६ गतेदेखि नै संस्थागत लगानीकर्तालाई एफपिओ विक्री गर्ने जानकारी दिएको हो ।

कम्पनीले जारी गरेको सुचनामा आफ्ना सबै सेयर विक्री नभएकोले संस्थागत लगानीकर्तालाई सेयर दिने उल्लेख गरिएको छ । कम्पनीले माघ १५ गतेदेखि सर्बसाधारणको लागि भन्दै ४० लाख ८१ हजार कित्ता एफपिओ विक्री खुल्ला गरेको थियो ।

कम्पनीले आफ्नो सेयर प्रतिकित्ता १०० रुपैयाँमा ४०१ रुपैयाँ प्रिमियम मूल्य जोडेर प्रतिकित्ता ५०१ रुपैयाँमा एफपिओ जारी गरेको हो । कम्पनीले कानुनी कमजोरी खोजेर सर्बसाधारणको लागि साधारण सेयर नै जारी नगरी एफपिओ जारी गरेको छ ।

‘हालसम्म निस्काशित सबै धितोपत्र खरीदका लागि आवेदन पर्न नआएकोले धितोपत्र निस्कासन तथा बाँडफाँड निर्देशिका २०७४ मा भएको ब्यवस्था बमोजिम आज मिति २०७२ साल माघ २६ गतेदेखि संगठिन संस्था वा प्रचलित कानून बमोजिम स्थापना भएका संस्थाले समेत सेयर खरीद गर्न पाउने गरी विक्री खुल्ला गरिएको हुँदा सम्बन्धित सबैको जानकारी लागि यो सुचना प्रकाशित गरिएको छ,’ कम्पनीले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

सो कम्पनीको सेयर विक्री प्रबन्धक एनएमबी क्यापिटल हो । सो क्यापिटलले दिएको जानकारी अनुसार गत माघ २४ गतेसम्ममा जम्मा १ अर्ब २० करोड रुपैयाँ बजारको सेयर माग भएको छ । कम्पनीले करिब २ अर्ब रुपैयाँको एफपिओ जारी गरेकोमा अझै करिब ८० करोड रुपैैयाँ बराबरको सेयर विक्री नभएको हो ।


क्लिकमान्डु