आक्रामक कारवाही पछि विद्युत् चोरीमा संलग्नहरु मिटर खोज्दै प्राधिकरण



काठमाडौं । चोरी नियन्त्रण अभियानलाई आक्रामक रुपमा अगाडि बढाएपछि नेपाल विद्युत् प्राधिकरणको ललितपुर वितरण केन्द्मा मिटरका लागि आवेदन दिनेको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।

प्राधिकरणको लगनखेल वितरण केन्द्रमा हालसम्म नयाँ मिटर माग गर्दै आवेदन दिनेको संख्या तीन सयको हाराहारीमा पुगेको छ ।

प्राधिकरणको अनौपचारिक अध्ययनको क्रममा ललितपुरका डेढ दर्जन बढी स्थानमा भइरहेको संगठित चोरीमा संलग्न ग्राहकको संख्या पाँच हजारको हाराहारीमा हुन सक्ने देखिएको छ ।

चोरी नियन्त्रण अभियान आक्रामक रुपमा अगाडि बढेको र चोरीमा संलग्नलाई सार्वजनिक अपराधमा मुद्दा दर्ता गर्ने नीति अगाडि सारिएपछि मिटर माग गर्दै आवेदन दिन आउनेको संख्या दैनिक जसो बढ्दै गएको छ ।

लगनखेल वितरण केन्द्रका अनुसार दैनिक ३० को हाराहारीमा नयाँ मिटर जडानका लागि आवेदन पर्न थालेको छ । ललितपुरमा करिब ५० करोड रुपैयाँ बराबरको विद्युत् चोरी भएको पत्ता लागेपछि विगत १५ दिनदेखि प्राधिकरणले आक्रामक कारवाही सुरु गरेको छ ।

चोरीमा संलग्न भएकालाई स्थानीय सुरक्षा निकाय तथा जनप्रतिनिधि संलग्न टोलीले नियन्त्रणमा लिने, हुकिङ हटाउने, मिटर बिगार्नेलाई ठाँउको ठाँउ कारवाही गर्न थालेपछि मिटर आवेदन दिने तथा आफै हुकिङ हटाउन समेत थालेका छन् ।

चोरी गर्नेले मिटर जडान, क्षमता वृद्धिलगायत कामका लागि आवेदन दिएका छन् । दैनिक दर्जनौं व्यक्ति आवेदन लिएर आउने गरेको केन्द्रका एक कर्मचारीले बताएका छन् ।

चोरी नियन्त्रण अभियानले सार्थकता पाएको अनुभव गरेका छौ, अझै यो अभियान निरन्तर जारी रहनेछ, प्राधिकरणका एक कर्मचारीले बताए ।

ती कर्मचारीकाअनुसार संगठित चोरी हुने स्थानमा सुरक्षा गस्ती समेत बढाइएको छ । ललितपुरमा ५० करोड वार्षिक र भक्तपुरमा मासिक १ करोड बराबरको चोरी हुने गरेको तथ्य सार्वजनिक भएपछि प्राधिकरण आक्रामक रुपमा चोरी नियन्त्रण अभियानमा लागेको हो ।


क्लिकमान्डु