शिवरात्रिमा पशुपति गएर गाँजा तान्ने मन छ ? सरकारले गर्यो यस्तो कडाइ



काठमाडौं । यो वर्षको महाशिवरात्रिमा पशुपति क्षेत्रभित्र खुलेआम गाँजा तान्न नपाइने भएको छ । महाशिवरात्रिमा हुनसक्ने अपराधिक गतिविधिलाई रोक्न पशुपति क्षेत्र विकास कोषले खुलेआम गाँजा बिक्री वितरण गर्न तथा सेवन गर्न रोक लगाउने निर्णय गरेको छ ।

हिन्दु धर्मालम्बीहरुको पुजनीय देवता महादेवको जन्म उत्सवको रुपमा महाशिवरात्रि मनाइँदै आएको छ । भक्तजनहरुले गाँजालाई भगवान शिवको प्रसादको रुपमा ग्रहण गर्ने गर्छन् ।

सरकारले गाँजाजन्य प्रदार्थलाई लागुऔषधको श्रेणीमा सूचिकृत गरेपनि महाशिवरात्रिको समयमा गाँजा सेवनमा खासै कडाई गर्ने गरेको थिएन । जसकारण अघिल्ला बर्षहरुमा पशुपतिक्षेत्रमा खुलेआम गाँजा सेवन तथा बिक्री वितरण हुँदै आएको थियो ।

पछिल्लो समय प्रविधिको विकाससँग गाँजा सेवनका कारण हुने गरेका विकृतीहरु सामाजकि सञ्जालमार्फत बाहिरिएका थिए । यसअघि गाँजा सेवकहरुबाट हुने गरेका नकारात्मक कार्यबाट बेखबर रहने गरेका सरोकार निकाय यसलाई न्युनिकारण गर्न अग्रसर भएको देखिएको हो ।

गाँजा सेवन गर्नेहरुले पशुपति क्षेत्रलाई अखडाको रुपमा प्रयोग गर्न थालेकाले गाँजा सेवकलाई निरुत्साहित गर्नका लागि भने पनि यस बर्षको महाशिवरात्रिमा खुलेआम गाँजा विक्री तथा वितरण गर्नेलाई कारबाही गर्ने प्रयासको सुरुवात गर्न लागिएको पशुपति विकास कोषका उपनिर्देशक राजेन्द्रधर राजोपाध्यायले जानकारी दिए ।

‘महाशिवरात्रिमा गाँजा सेवनलाई पूर्णरुपमा प्रतिबन्ध गर्न सम्भव छैन, हिन्दुधर्मालम्बीहरुले गाँजालाई भगवान शिवको प्रसादको रुपमा लिने गरेका छन्,’ राजोपाध्यायले क्लिकमाण्डूसँग भने ।

महाशिवरात्रिको समयमा पशुपति क्षेत्रमा आउने बाबाहरुलाई गाँजा सेवनमा कुनै कडाई गरिने छैन । तर, उनीहरुले आफूसँग भएको गाँजा बेच्न तथा प्रसादको रुपमा अन्य भक्तजनलाई वितरण गर्न भने पाउने छैनन् ।

यदि कुनै बाबाले गाँजा बिक्री वितरण गरेको पाइएमा दुवै जनालाई प्रहरीको जिम्मा लगाइने उनको भनाइ छ ।

यस बर्षको शिवरात्रिमा १२ लाख भक्तजनले पशुपति क्षेत्रको भ्रमण गर्ने अपेक्षा गरिएको छ । अघिल्लो बर्षको तुलनामा १० प्रतिशतले भक्तजनको सङ्ख्यामा वृद्धि हुने कोषको अनुमान छ । अघिल्लो बर्ष ११ लाख भक्तजनले पशुपति क्षेत्रको भ्रमण गरेका थिए ।

यस बर्ष भक्तजनहरुको सहजताका लागि ३ वटा लाइनको व्यवस्था गरिने उनले जानकारी दिए । उत्तर ढोकाबाट दर्शन गर्ने भक्तजनहरुले मित्र पार्कबाट सुरु हुने लाइनमा बस्नु पर्नेछ । यस्तै, दक्षिण ढोकाबाट दर्शन गर्ने भक्तजनहरुले जय वागेश्वरीहुँदै वनकालीको बाटोबाट दर्शन गर्न सक्नेछन् । पश्चिम ढोकाबाट दर्शन गर्ने भक्तजनले गौशलातर्फबाट प्रवेश गर्नुपर्छ ।

महाशिवरात्रिलाई व्यवस्थित, सभ्य तथा भव्य बनाउनका लागि कोष कटिबद्ध रहेको राजोपाध्यायले बताए । यसका लागि ८ वटा उप-समितिको व्यवस्था गरिएको छ । उप-समितिमा सुरक्षा दर्शन व्यवस्था, चन्दन मन्दिर प्राङ्गगण तथा रात्रिकालिन व्यवस्था, आवास भोजन तथा भौतिक पूर्वाधार व्यवस्था, साधुसन्त सेवा एवम् धार्मीक कार्यक्रम, स्वास्थ्य वातावरण सरसफाइ तथा जुत्ता चप्पल व्यवस्था, प्रचारप्रसार व्यवस्था, साजसजावट व्यवस्था र स्वय सेवा परिचालन, अनुगमन तथा पास व्यवस्था उपसमिति गरी ८ वटा उपसमिति रहने छन् ।

रातको समयमा नै महाशिवरात्रि मनाइने भएकाले रात्रिकालिन सजावटमा कोषले विशेष ध्यान दिने उनको भनाइ छ । त्यसका लागि विभिन्न रंगका विद्युतीय बत्तिहरु प्रयोग गर्ने कोषले योजना बनाएको छ ।

यस बर्षको महाशिवरात्रिमा पासको सहयोगले दर्शन गर्न नपाइने भएको छ ।

‘पासको व्यवस्था गर्दा लाईन बसेर दर्शन गर्ने भक्तजनहरु अन्यायमा पर्ने देखिन्छन्, पशुपतिनाथ हिन्दुहरुको आराध्यदेव भएकाले सबैलाई समान व्यवहार गर्न पास हटाइएको हो,’ उनले भने ।

गत बर्ष घटेको एउटा रमाइलो घटनाको स्मरण गर्दै उनले भने, ‘एक भक्तजन मेरो १० हजारको जुत्ता हरायो अब मलाइ पैसा चाहियो भन्दै आएका थिए ।’


पुष्प दुलाल