नविन्द्रराजले ब्यूँताएको नेपाल औषधिले फागुन पहिलो सातादेखि सिटामोल उत्पादन गर्ने



काठमाडौं । पूर्णसरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडले फागुन पहिलो सातादेखि सिटामोल उत्पादन गर्ने भएको छ ।

सिटामोल उत्पादनका लागि भारतबाट २ वटा मेसिन भित्र्याई सकिएको उद्योगका महाप्रबन्धक डा. रोभसकुसम सुवेदीले जानकारी दिए ।

‘मेसिन जडानका लागि भारतीय प्राविधिकलाई चिठ्ठी पठाइसकेका छौं, एक साताभित्र उनीहरु मेसिन जोड्न नेपाल आउँदैछन्,’ सुवेदीले क्लिकमाण्डूसँग भने ।

प्राविधिकहरुले काम सुरु गरेको २/४ दिनभित्रमा मेसिन जडान गरिसक्ने सुवेदी बताउँछन् ।

सिटामोल उत्पादनका लागि आवश्यक कच्चा पर्दाथ उद्ययोगले २ महिना अघि नै भित्र्याएको थियो । अन्य मेसिन र आवश्यक जनशक्ति उद्योगसँग उपलब्ध भएकाले फागुनको पहिलो साताभित्र सिटामोल उत्पादन हुने उनको भनाइ छ ।

‘सिटामोल उत्पादनका लागि पूर्वतयारी सकिसकेको छ, मेसिन जडानसँग सिटामोल उत्पादनले पूर्णता पाउँछ,’ उनले भने ।

नविन्द्रराजले पुनर्जिबन दिएपछि…

तत्कालीन उद्योगमन्त्री नविन्द्रराज जोशीले यो उद्योगलाई पुनर्जिबन दिएपछि २०७४ वैशाख २४ गतेदेखि जीवनजल उत्पादन थालेको थियो ।

सरकारी हस्तक्षेप र चरम राजनीतिकरणका कारण बन्द हुने अवस्थामा पुगेको यो उद्योगलाई सस्तो दरमा औषधी उत्पादन गरेर सर्वसाधारणलाई बिक्री वितरण गर्ने उदेश्यले पुनः सञ्चालनमा ल्याइएको हो ।

सँगै पुनःसञ्चालनमा आएको उद्योगले फागुन पहिलो सातादेखि सिटामोल उत्पादन गर्ने भएको हो । औषधी उत्पादनका लागि आवश्यक पर्ने अन्तराष्ट्रिय मापदण्ड गुड म्यानिफ्याक्चरिङ प्राक्टिस (जीएमपी) को पूर्ण कार्यान्वयन गर्दै उत्पादन थालिएको हो ।

यो कम्पनी सञ्चालनमा आएसँगै सरकारले जनतालाई निःशुल्क र सहुलियत दरमा दिने औषधिहरु निजी कम्पनीसँग महंगोमा किन्नुपर्ने अवस्था अन्त्य हुने विश्वास गरिएको छ ।

सिटामोलको मूल्य कति ?

सिटामोलको मूल्य एक रुपैयाँभन्दा धेरै नहुने महाप्रबन्धक सुवेदीले जानकारी दिए । नाफाभन्दा पनि जनताको सेवाका लागि औषधी उत्पादन गर्न लागिएकाले सिटामोलको अधिकतम मूल्य एक रुपैयाँभन्दा बढी नहुनेगरी उत्पादन हुनेमा उनी विश्वस्त छन् ।

एक रुपैयाँमा सिटामोल बेच्चा पनि उद्योगलाई घाटा नहुने उनको भनाई छ ।

‘घाटा हुनेगरी कुनै पनि बस्तु उत्पादन गरेर बजारमा लगिन्न, एक रुपैयाँमा बेच्दा धेरै फाइना नभए पनि न्युनत फाइदा हुने देखिन्छ,’ उनले भने ।

भारतबाट के मेसिन ल्याइयो ?

उद्योगले भारतबाट कम्प्रेशन र ग्राण्ड लेटर मेसिन खरिद गरेको छ । कम्प्रेशन मेसिन २० लाख रुपैयाँ र ग्राण्ड लेटर मेसिन ९ लाख ६० हजार रुपैयाँमा खरिद गरेको लिमिटेडले जानकारी दिएको छ ।

बजारमा कहिले पाइन्छ ?

उद्योगले उत्पादन गरेको सिटामोल फागुन महिना भित्रमा बजारमा सर्वसुलभ तरिकाले खरिद गर्न सकिने महाप्रबन्धक सुवदी बताउँछन् ।

‘औषधी सर्वसाधारणसँग पुर्याउने कार्य प्राविधिक हुन्छ, औषधी उद्योगमा उत्पादन हुन्छ र त्यहाँबाट स्टकिट, डिलर हुँदै ग्राहकको हातमा पुग्छ’ उनले भने ।

थोरै उत्पादन गरेर बजार पठाउँदा स्टकिटलाई वितरण गर्न समस्या आउन सक्छ । त्यसका लागि आवश्यक मात्रामा सिटामोल उत्पादन गरेर बजार पठाउनु पर्ने सुवेदी बताउँछन् ।


पुष्प दुलाल