नेपाल बैंकले पौने २ अर्ब रुपैयाँको एफपिओ निष्काशन गर्ने, मूल्य कति ?



काठमाडौं । नेपाल बैंक लिमिटेडले १ अर्ब ७६ करोड ८४ लाख ८५ हजार ८ सय रुपैयाँ बराबरको फरदर पब्लिक अफरिङ (एफपिओ) निष्काशन गर्ने भएको छ ।

बैंकले पुँजी वृद्धिका लागि १ करोड ७६ लाख ८४ हजार ८ सय ५८ कित्ता एफपिओ जारी गर्न लागेको हो । बैंकले निष्काशन गर्ने एफपिओमध्ये प्रतिकित्ता १०० रुपैयाँ चुक्ता पुँजीमा गणना हुने र त्यसमाथि थपिएको मूल्य बैंकबाट हुने आम्दानी बैंकको रिजर्भमा जानेछ ।

एफपिओ निष्काशन पछि बैंकको चुक्ता पुँजी ९ अर्ब ८१ करोड पुग्ने छ।

प्रिमियम मूल्य कति राख्नेबारे निर्णय भइनसकेको बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाहले क्लिकमाण्डूलाई जानकारी दिए ।

‘अहिले हामीले एफपिओ निष्काशन गर्ने निर्णय मात्रै गरेका छौं, प्रिमियम मूल्य कति राख्ने भन्ने निर्णय भइसकेको छैन,’ शाहले भने ।

बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले एफपिओ निष्काशन गर्नेे निर्णय गरेको हो । बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्रै यो निर्णय कार्यान्वयनमा जानेछ ।

बैंक स्रोतका अनुसार प्रतिकित्ता २ सय रुपैयाँको हाराहारीमा एफपिओको मूल्य निर्धारण गर्ने तयारी भइरहेको छ ।

दोस्रो बजारमा हाल बैंकको सेयर मूल्य साढे ३ सय रुपैयाँ छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले १ अर्ब ६४ करोड रुपैयाँ खुद नाफा कमाएको अपरिस्कृत वित्तीय विवरणमा उल्लेख छ ।


पुष्प दुलाल