कुलमानलाई चोरको चुनौति, भक्तपुरमा महिना दिन मै १ करोडको बिजुली चोरियो !



काठमाडौं । केही दिन पहिले राजधानीभित्रैको जिल्ला ललितपुरमा वार्षिक ५० करोड बराबरको विद्युत् चोरी भएको तथ्य सार्वजनिक भएको थियो ।

राजनीतिक दलका नेता, स्थानीय टोले गुन्डा र प्राधिकरणका कर्मचारीको समेत मिलेमतामा उक्त परिमाणको विद्युत् चोरी भएको सार्वजनिक भइरहेको बेला राजधानीकै अर्को जिल्ला भक्तपुरमा मासिक १ करोड बराबरको विद्युत् चोरी हुने गरेको अर्को तथ्य फेला परेको छ ।

भक्तपुरमा मासिक १ करोड बराबरको विद्युत् चोरी हुने गरेको पाइएको छ । बाक्लो बस्ती, प्राधिकरणका कर्मचारीको लापरवाही तथा स्थानीयको अवरोधका कारण भक्तपुरमा समेत ठूलो मात्रामा विद्युत् चोरी भइरहेको छ ।

चोरीका कारण ठूला दुर्घटना हुने सम्भावना समेत बढेर गएको छ । तर नियन्त्रणको सार्थक प्रयास हालसम्म हुन सकेको छैन ।

प्राधिकरणको तथ्यांकलाई नै आधार मान्ने हो भने राजधानीका तीन जिल्ला मध्ये सबैभन्दा बढी र संगठित रुपमा चोरी हुने जिल्लामा ललितपुर र भक्तपुरलाई लिने गरिन्छ ।

पछिल्ला दिनमा चोरी नियन्त्रणको प्रयास भएपनि सार्थक नजिता भने निस्कन नसकेको स्वयम् प्राधिकरणले जनाएको छ । स्थानीयको अवरोधका कारण चोेरी नियन्त्रणमा जाने प्राधिकरणका कर्मचारी समेत कार्यस्थलमा जान तयार देखिएका छैनन् ।

भक्तपुरको ग्रामीण क्षेत्रमा भन्दा पनि बढी शहरी क्षेत्रमा चोरी बढी रहेको छ । बाक्लो बस्तीमा चोरी नियन्त्रणका लागि स्थानीय सुरक्षा निकाय र राजनीतिक नेतृत्वलाई समेत साथमा लिएर काम गर्ने जाँगर प्राधिरकणले देखाएको छैन । जसका कारण चोरीको मात्रा दिन प्रतिदिन बढ्दै गएको बताइएको छ ।

प्राधिकरणका कर्मचारी नै स्थानीयबासीबाट असुरक्षित भएपछि चोरी नियन्त्रणको प्रयास समेत सार्थक बन्न नसकेको प्राधिकरणका उच्च अधिकारीको भनाइ छ ।

नियमित विद्युत् आपूर्ति भइरहेको सन्दर्भमा प्राधिकरण सरोकारवाला सबैलाई समन्वय गर्न सकेको खण्डमा चोरी नियन्त्रण हुन सक्ने भएपनि त्यसतर्फ प्रयास नगरिनु र नहुनु दुखद रहेको छ ।

प्राधिकरणको भक्तपुर शाखाले चालू आर्थिक वर्षको ५ महिनामा विद्युत् चोरीमा संलग्न ४० जनालाई कारबाही गरेको जनाएको छ । तर चोरीको मात्रा भने उस्तै रहेको छ । चोरीमा संलग्नबाट ११ लाख ८८ हजार ८ सय ५८ असुल गरिएको उसले जनाएको छ ।


पुष्प दुलाल