ट्रम्पलाई अर्को धक्का, १० वर्षपछि अमेरिकी सेयर बजार आरालो, आर्थिक संकटको संकेत



काठमाडौं । सन् २००८ को आर्थिक संकटको अवस्थालाई नै बिर्साउने गरी अमेरिकी शेयर बजारमा उच्च गिरावट देखिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको राजनीतिक गतिविधि तथा बिलिनियर व्यपारीको पक्षमा मात्रै निर्णय गरेको भन्ने आशयका समाचार सार्वजनिक हुनु र बजार कीर्तिमानी तवरले घट्नुको पछाडि अन्य खास कारणहरु पनि रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

अमेरिकी शेयर मूल्यमा एक दशकअघिको आर्थिक संकटयता एक दिनमै सबैभन्दा ठूलो गिरावट आएको हो ।

बिबिसिकाअनुसार शेयर मूल्यमा एकै दिन ११ सयभन्दा बढी अंकले गिरावट आएको विवरणहरूमा जनाइएको छ । कुल ४.६ प्रतिशतको गिरावटसहित डाऊ जोन्सको कारोबार बन्द भएको जनाइएको छ ।

बिबिसिकाअनुसार शुक्रवार अमेरिकी श्रम मन्त्रालयले रोजगारीको संख्या सार्वजनिक गरेको थियो । जुन अपेक्षा गरिएभन्दा बढी तलबमा वृद्धि हुने देखाएको थियो । त्यसपछि कम मूल्यमा शेयर विक्री बढेको हो । जसले बजारलाई नराम्ररी प्रभावित पारेको छ ।

तलबमा वृद्धि भए मानिसहरूले बढी खर्च गर्ने र त्यसले मुद्रास्फिति बढ्ने बताइएको छ । शेयरको मूल्यको आकलन बढी गरिएको चिन्ताका माझ महिनौँदेखि बजारमा भएको वृद्धिपछि पछिल्लो गिरावट शेयर बजारमा देखिएको हो ।

बिबिसिले ह्वाइट हाउसका एकजना प्रवक्ताको भनाई उदृत गर्दै भनेको छ – शेयर बजारमा बेलाबखत उथलपुलथ हुन सक्छ तर आत्तिइहाल्नुपर्ने अवस्था भने छैन ।

उनका अनुसार राष्ट्रपति डोनल्ड ट्रम्पले देशको दीर्घकालीन आर्थिक अवस्थामा ध्यान केन्द्रित गरेका छन् । आर्थिक मजबुतीको पक्षमा निर्णयहरु लिइएको छ । हामी बलिया छौ आत्तिनुपर्ने अवस्था छैन ।

ह्वाइट हाउसले शेयर मूल्यमा गिरावट आउँदा हामी सधैँ चिन्तित हुने भएपनि हाम्रो आर्थिक अवस्थापनि ढुक्क छौ, कहिलेकाही सामान्य फोकाहरु देखा पर्न सक्छ ।

शेयर मूल्यमा देखिएको गिरावटले यसअघि सन् २००८ मा भएको गिरावटलाई उछिनेको अन्तराष्ट्रिय सञ्चारमाध्यमको टिप्पणी छ । उनीहरुले भनेका छन् सन् २००८ को आर्थिक संकटका बेला शेयर बजार ७७७.६८ अंकले घटेको थियो ।

प्रतिशतको हिसाबले सन् २०११ को अगष्टमा अमेरिकी शेयर मूल्यमा भएको गिरावटयताकै यो सबैभन्दा धेरै भएको जनाइएको छ । केहीले भने दशकयताकै अमेरिकी अर्थतन्त्र डोलायमान अवस्थामा पुगेको समेत बताएका छन् ।


पुष्प दुलाल