वाम गठबन्धनलाई मोदीको राहतः भारतले नेपाललाई दिने अनुदान ७३ प्रतिशतले बढायो



काठमाडौं । भारत सरकारले नेपाललाई दिने अनुदान ७३ प्रतिशतले बढाएको छ ।

भारतीय वित्तमन्त्ती अरुण जेट्लीले विहीवार पेश गरेको बजेटमा नेपाललाई दिने अनुदान ७५ प्रतिशतले बढाइएको हो । बजेटले यो वर्षको लागि नेपाललाई ६ अर्ब ५० करोड भारतीय रुपैयाँ(१० अर्ब ४० करोड) नेपाली रुपैयाँ सहयोग दिने भएको हो ।

अघिल्लो वर्ष भारत सरकारले ३ अर्ब ७५ करोड भारतीय रुपैयाँ(६ अर्ब) नेपाली रुपैयाँ सहयोग दिएको थियो ।

भारतीय संचारमाध्यम इकोनोमिक्स टाइम्समा प्रकाशित समाचार अनुसार भारतले विभिन्न देशलाई अनुदानको लागि यो पटक ५५ अर्ब ४५ करोड भारतीय रुपैयाँ विनियोजन गरेको छ ।

भारत सरकारले सबैभन्दा बढी अनुदान भुटानलाई दिदै आएको छ । यो पटक भुटानलाई २६ अर्ब ५० करोड भारतीय रुपैयाँ विनियोजन गरिएको छ । भुटानपछि सहयोग पाउने दक्षिण एशियाली देशमा नेपाल पर्छ ।

भारतले अफ्रिकन देशलाई २ अर्ब,बंगलादेशलाई १ अर्ब ७५ करोड,श्रींलकालाई १ अर्ब ५० करोड भारतीय रुपैयाँ विनियोजन गरेको छ ।

भारत सरकारले दिने सहयोग केही नेपाल सरकारको बजेट मार्फत आउने गर्छ । धेरै रकम भारत दुतावास आफैले छनोट गरेका परियोजनामा दिने गरेको छ ।


क्लिकमान्डु