६ महिनामै अर्बपति बन्यो स्ट्याण्डर्ड चार्टर्ड बैंक



काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा १ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले ६ महिनाको अवधिमा १ अर्ब नाफा कमाएको यो पहिलो पटक हो । गत वर्षको यसै अवधिमा बैंकले ७४ करोड रुपैयाँ नाफा कमाएको थियो ।

बढी नाफा कमाउने १० बैंकको सूचिमा लगातार पर्दै आएको बैंकले यो वर्ष नाफा २ अर्बको हाराहारीमा पुर्याउने संकेत देखिएको छ । गत वर्ष बैंकले १ अर्ब ३८ करोड रुपैयाँ नाफा कमाएको थियो ।

बैंकले सोमबार प्रकाशित गरेको चालू आर्थिक वर्षको पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले १ अर्ब ४६ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । यो गत वर्षको यसै अवधिको भन्दा ४२ करोड रुपैयाँले बढी हो ।

गत बर्षको पुस मसान्तमा ६१ अर्ब ९८ करोड रुपैयाँ निक्षेप संकलन गरी ३५ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले यो बर्षको पुस मसान्तमा ६६ अर्ब ७ करोड रुपैयाँ निक्षेप संकलन गरी ४२ अर्ब ३५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

एक वर्षको अवधिलाई समीक्षा गर्दा बैंकको व्यवसायको आधार उल्लेख्य विस्तार भएको देखिँदैन । समग्र बैंकिङ क्षेत्रमा देखिएको लगानी योग्य पुँजी (तरलता) अभाव लगायतका समस्याले यो बैंकलाई पनि असर गरेको देखिन्छ । यद्यपि बैंकको बिजेनस ग्रोथको आधारमा नाफाको ग्रोथ भने सन्तोषजनक नै मान्नुपर्छ ।

तर, चुक्ता पुँजी वृद्धिसँग नाफा वृद्धिलाई हेर्ने हो भने सन्तोष मान्न सक्ने स्थिति छैन । किनभने गत एक वर्षको अवधिमा बैंकले ४ अर्ब रहेको चुक्ता पुँजी अहिले ८ अर्ब रुपैयाँ एक वर्षको अवधिमा बैंकले पौने ४ अर्ब रहेको चुक्ता पुँजी अहिले ८ अर्ब रुपैयाँ छ ।

एक वर्षको अवधिमा बैंकले खराब कर्जामा केही सुधार गरेको वित्तीय विवरण प्रकाशित गरेको छ । ०७३ पुस मसान्तमा ०.२६ प्रतिशत रहेको खराब कर्जा ०.१७ प्रतिशतमा झारेको छ ।

पुँजी वृद्धि अनुसार नाफा बढाउन नसक्दा बैंकको सेयर आम्दानी भने घटेको देखिन्छ । गत बर्षको पुसमा ३९.४८ रुपैयाँ सेयर आम्दानी रहेकोमा यो बर्षको पुसमा घटेर २५.३० रुपैयाँमा झरेको छ ।


पुष्प दुलाल