माया खोलामा पैसा जुट्यो, सिटिजन बैंकको अगुवाईमा ३ बैंकले पौने २ अर्ब लगानी गर्ने



काठमाडौं । विभिन्न जलविद्युत् आयोजनासँग एक पछि अर्को गर्दै लगानी सम्झौता भइरहेको बेला पुनः अर्को आयोजनामा ३ बैंकले संयुक्त रुपमा लगानी गर्ने सम्झौता भएको छ ।

संखुवासभामा आयोजना स्थल रहेको १५ मेगावाट क्षमताको मायाखोला जलविद्युत् आयोजनामा सिटिजन्स बैंक इन्टरनेशनलको अगुवाइमा सेन्चुरी कमर्सियल बैंक र सिभिल बैंक लिमिटेडले १ अर्ब ७५ करोड रुपैयाँ ऋण लगानी गर्ने सम्झौता गरेका हुन् ।

बैंक र आयोजना प्रर्वद्धधक मायाखोला हाइड्रो पावर कम्पनीबीच बुधबार ऋण लगानी सम्झौतामा हस्ताक्षर भएको हो ।

सो आयोजनामा सिटिजन्स बैंकले ७५ करोड तथा सेन्चुरी र सिभिल बैंकले ५०/५० करोड लगानी गर्ने सम्झौता भएको हो ।

कूल २ अर्ब ५० करोड लागत अनुमान गरिएको आयोजनामा ७५ करोड रुपैयाँ स्वपुँजी रहेको छ । आयोजनामा ७० प्रतिशत संस्थापक सेयरधनीको र बाँकी ३० प्रतिशत साधारण सेयर रहने छ ।

आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् नेपाल विद्युत प्राधिकरणले संखुवासभाको बानेश्वरमा निर्माण गर्ने १३२ केभी सबस्टेसनमा लगेर जोडिने छ । उक्त सबस्टेसनसम्म पुरयाउन आवश्यक पर्ने ५ किलोमिटर लामो ३३ केभी क्षमताको प्रसारण लाइन कम्पनी आफैंले निर्माण गर्नेछ ।

सरकारले प्रतिस्पर्धाका आधारमा निजी क्षेत्रलाई निर्माण गर्न दिएका विभिन्न ६ आयोजनामध्येको एक आयोजना हो माया खोला २०७६ पुसमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना गत असोजदेखि नै निर्माण सुरु गरिएको छ ।


पुष्प दुलाल