घर बनाउँदै हुनुहुन्छ भने खुसीको खबर, सिमेन्टको मूल्य घट्यो



काठमाडौं । सिमेन्ट उद्योगहरुले सिमेन्टको मूल्य घटाएका छन् । भारतबाट आउने कच्चा पर्दाथको आयातमा वृद्धि भएकसँगै उद्योगहरुले सिमेन्टको मूल्य घटाएका हुन् ।

सिमेन्ट उत्पादक संघका अध्यक्ष धुव्रकुमार थापाले पछिल्ला दिनमा उत्पादन बढेको र मागमा कमी आएकाले उद्योगहरुले सिमेन्टको मूल्य समायोजन गरेको बताए ।

‘माग नै कम भएपछि मूल्य स्वत घट्छ, अन्य उत्पादन जस्तो सिमेन्ट उत्पादन गरेर भण्डारण गर्न सम्भव हुँदैन त्यसै मूल्य घट्नु स्वाभाविक हो,’ अध्यक्ष थापाले क्लिकमाण्डूसँग भने ।

जगदम्बा सिमेन्टका सिनियर सेल्स म्यानेजर रोशन पाठकका अनुसार कच्चा पर्दाथको आयातमा वृद्धि भएसँगै मूल्य घटाइएको हो ।

जगदम्बा सिमेन्टको ओपीसी र पीपीसी सिमेन्ट दुवैमा समान रुपमा २० रुपैयाँ मूल्य घटेको हो । कम्पनीले पीपीसी सिमेन्टमा एक साता अघिदेखि मूल्य घटाएको थियो भने ओपीसीमा बुधबारदेखि मूल्य घटाइएको छ ।

अर्घाखाँची सिमेन्टले पनि प्रतिबोरा २० रुपैयाँले मूल्य घटाएको छ । कम्पनीले आइतबारदेखि सिमेन्टको मूल्य घटाएको सिनियर सेल्स एण्ड मार्केटिङ म्यानेजर रमेश थापाले जानकारी दिए । थापाका अनुसार अर्घाखाँची सिमेन्ट ८ सय ७५ रुपैयाँ प्रति बोरा कम्पनी मूल्य कायम भएको छ ।

 

पछिल्लो समय सिमेन्ट उद्योगहरुले अप्रत्यासित रुपमा बढाएको मूल्यको चौतर्फी विरोध भएको थियो । निर्माण व्यावसायीहरुले सिमेन्ट उद्योगहरुले एक अर्काको सल्लाहमा अधिक मूल्य बढाएको समेत आरोप लगाउँदै आएका थिए ।

केहि सिमेन्ट उद्योगीहरुले सिमेन्टको मूल्य अझै झर्न सक्ने बताउँछन् । पछिल्लो समय भारतबाट आयात हुने कच्चा पर्दाथ कम भित्रिएकाले उत्पादन कम भएर मूल्य बढेको थियो ।

हाल भारतबाट उल्लेखिय मात्रामा कच्चा आयात भएसँगै उत्पादनमा वृद्धि भएको छ । मागभन्दा उत्पादन धेरै भएकाले उद्योगहरु मूल्य समायोजन गर्न उद्योगहरु बाध्य देखिएका छन् ।


पुष्प दुलाल