एक बर्षमै सरकारले बढाइदियो तपाइको थाप्लोमा साढे २१ सय ऋण




काठमाडौं । तपाइको ब्यक्तिगत ऋण/धन जे छ, त्यो तपाइकै भयो । तर, सरकारले देशभित्रै वा बिदेशी दातृ निकाय तथा देशहरुसँग लिएको ऋणका कारण तपाइ हामी ऋणी देशको नागरिक बन्नुपर्ने हुन्छ ।

हो, हाम्रो सरकारले देश भित्रै तथा बिदेशीसँग ऋण लिएको छ । त्यो ऋण एक जना नेपालीको भागमा २४ हजार २७६ रुपैयाँ ७५ पैसा पर्छ ।

महालेखा नियन्त्रकको कार्यालयले दिएको जानकारी अनुसार गत असार मसान्तसम्ममा सरकारले ६ खर्ब ९७ अर्ब ६८ करोड ९४ लाख रुपैयाँ ऋण लिएको छ । राष्ट्रिय तथ्यांक विभागले अहिले नेपालको जनसंख्या २ करोड ८७ लाख २९ हजार छ भनेको छ । यो तथ्यांक अनुसार सरकारले लिएको ऋण प्रत्येक नेपालीलाई भाग लगाउँदा एक जनाको भागमा २४ हजार २७६ रुपैयाँ ७५ पैसा पर्छ ।

यस्तो ऋणमध्ये सरकारले देशभित्रै २ खर्ब ८३ अर्ब ७१ करोड ६ लाख रुपैयाँ लिएको छ । बिदेशीसँग भने ४ खर्ब १३ अर्ब ९७ करोड ८८ लाख रुपैयाँ ऋण लिएको छ ।

नेपालमा गत आर्थिक बर्षभरीमा २५ खर्ब ९९ अर्ब २३ करोड रुपैयाँ बराबरको बस्तु तथा सेवा उत्पादन भएको थियो । अब हाम्रो देशमा गत आर्थिक बर्षमा भएको बस्तु तथा सेवाको उत्पादन र ऋणलाई तुलना गरेर हेरौं । यसरी हेर्दा गत आर्थिक बर्षभरीमा जति मूल्य बराबरको बस्तु तथा सेवा उत्पादन भयो, त्यसको २६.८४ प्रतिशत ऋण रहेछ । यस्तो ऋणमध्ये १५.९३ प्रतिशत बिदेशीको र १०.९१ प्रतिशत देशभित्रकै रहेछ । सरकारले विभिन्न प्रकारका बन्ड तथा ऋणपत्रहरु विक्री गरेर देशभित्रबाटै ऋण लिने गर्छ भने विदेशीसँग सम्झौता गरेर ऋण लिने गर्छ ।

आर्थिक बर्ष २०७२/७३ को तुलनामा गत आर्थिक बर्ष अर्थात २०७३/७४ मा सरकारले लिएको ऋण सबै नेपालीलाई भाग लगाउँदा एक जनाको भागमा २१४७ रुपैयाँ ३४ पैसाले बढेको महालेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ ।

सरकारले देशभित्रै वा बिदेशीसँग लिएको ऋणको किस्ताबन्दी रुपमा सावा तथा ब्याज तिर्नुपर्छ । गत बर्ष सरकारले ७१ अर्ब २८ करोड ८३ लाख २० हजार रुपैयाँ सावा तथा ब्याज तिरेको छ । यो रकममध्ये १० अर्ब २ करोड ३६ लाख ९९ हजार रुपैयाँ ऋणको ब्याज तिर्दै सकिएको छ भने ६१ अर्ब २६ करोड ४६ लाख २१ हजार रुपैयाँ सावा तिरेर ऋण घटाइएको छ ।

सरकारले लिएको ऋणमा दिशभित्रकै ऋणभन्दा बिदेशी ऋण झण्डै दोब्बर छ । तर ब्याज तिर्दा भने बिदेशी ऋणको भन्दा देशभित्रकै ऋणको ब्याजमा दोब्बर बढी खर्च हुने गरेको महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार गत आर्थिक बर्षमा सरकारले ऋणको ब्याज तिर्न खर्च गरेको १० अर्ब २ करोड ३६ लाख ९९ हजार रुपैयाँमध्ये आन्तरिक ऋणको ब्याज तिर्न ६ अर्ब ७६ करोड १ लाख ८५ हजार रुपैयाँ र बिदेशी ऋणको ब्याज तिर्न ३ अर्ब ३६ करोड ३५ लाख १३ हजार रुपैयाँ खर्च भएको छ ।


क्लिकमान्डु