परम्परागत शैलीमा रानीपोखरीको जीर्णोद्धार गर्न सिफारिस




काठमाडौं । परम्परागत शैलीमा रानीपोखरीको जीर्णोद्धार गर्न सिफारिस गरिएको छ । रानीपोखरी पुनःनिर्माणका लागि आवश्यक अध्ययन गर्नका लागि पुरातत्व विभागका पूर्व महानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वतमा गठित ११ सदस्यीय कार्यदलले पराम्परागत शैलीमा जीर्णेद्धार कार्य गर्नका लागि सिफारिस गरेको हो ।

२०७२ वैशाख १२ गतेको भूकम्पबाट रानीपोखरीमा क्षति पुगेको थियो । रानीपोखरीको पुनःनिर्माण गर्ने जिम्मा काठमाडौं महानगरपालिकाले लिएको थियो । महानगरपालिकाले आधुनिक शैलीमा रानीपोखरीको पुनःनिर्माण कार्य अगाडि बढाउँन खोजेको थियो । महानगरपालिकाले रानीपोखरीलाई आधुनिक शैलीमा निर्माण गर्न खोजेको भन्दै पुरातत्व विभागले पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरको पुनःनिर्माण आफैले सुरु गरिसकेको छ ।

सम्पदा प्रेमी नगरबासी र पुरातत्व विभागले पुरातत्विक महत्वको रानीपोखरी निर्माणमा कंक्रिटको प्रयोग गर्न नहुँन भन्दै पुनःनिर्माण कार्यमा रोक लगाइएको थियो ।

विशेषज्ञ समितिको सुझाव

पोखरीको विभिन्न अवस्था र स्थितिलाई पत्ता लगाई परम्परागत स्वरुपमा जीर्णोद्धार गर्न थप पुरातात्विक अध्ययन एवं अनुसंधान कार्य अघि बढाउने ।

पोखरीको पानी स्थायित्वका लागि हाइडोलोजिस्टको सेवा उपलब्ध गर्नुपर्ने ।

अनुसन्धान एवं पानीको स्थायित्वको लागि उपलब्ध हुने सुझाबको आधारमा पोखरी जीर्णोद्धार गर्ने लागत अनुमान र कार्ययोजना बनाई कार्यारम्भ गराउनु पर्ने ।

पुरातात्विक उत्खननबाट पोखरीमा परम्परागत रुपमा संचालन गरिएका पानीका स्रोतहरुको अनुसन्धान गरिनु पर्ने र पोखरीमा पानी प्रवेश गराउने इनलेट र आउलेटको खोजी गर्ने ।

पोखरीको मौलिक स्वरुप र संबेदनशिलतालाई प्रतिकुल प्रभाव पर्ने गरी निर्माण भएका संरचना र कंक्रिट रिटेनिङ्गवालको संरचना हटाई परम्परागत स्वरुप बमोजिमको कार्यारम्भ गर्नुपर्ने ।

पोखरीको केन्द्रविन्दुमा रहेको बालगोपालेश्वरको जगको अवस्थिति पत्ता लगाउन पुरातात्विक उत्खनन् गर्नुपर्ने ।

बालगोपालेश्वर मन्दिरसम्म जाने बाटोको रुपमा निर्माण भएको पुलको जीर्णोद्धार गर्नुका साथै उक्त पुलमा लगाईएको बार परम्परागत शैलीमा निर्माण गर्नुपर्ने र पुलको फाउण्डेसन एवं सोमाथिको गाह्रो जीर्णोद्धार गर्नुपर्ने ।

बालगोपालेश्वर मन्दिरमा राखिएका मकराकृति धाराहरु मध्ये नयाँ स्वरुपमा निर्माण गरिएका धाराहरु हटाई एकरुपता त्याउन पुरानो बमोजिमको शैलीमा निर्माण गरी जडान गर्नुपर्ने ।

पोखरीको जीर्णोद्धार कार्य संचालन गर्न आवश्यक परिमाणमा प्रतापमल्लकालिन गुणस्तरका ईंट्टाहरुको निर्माण ब्यबस्थापन कार्य अगाडि बढाउनु पर्ने ।

रानीपोखरीको समग्र जिर्णोद्वार गर्ने ड्रइङ, डिजाईन गरी सो अनुरुप गर्नुपर्ने ।
रानीपोखरीमा जीर्णोद्वार गर्ने कार्य संवद्द विज्ञ समुहको अनुगमन÷सुपरीवोकमा गर्न उपयुक्त हुने÷गराउनुपर्ने ।

रानीपोखरीको ऐतिहासिक एवं पुरातात्विक स्वरुप नासिने गरी निर्माण भएका संरचनाहरु हटाई पुरानै स्वरुपमा निर्माण गर्ने ।

हाल पोखरीको पूर्र्व र दक्षिणतर्फको आधाभागसम्म निर्माण गर्दा काटिएको पोखरीको डिललाई बचाउने कार्य गर्ने ।

पोखरीको संकलित पानी स्थायित्वका लागि आवश्यक प्राविधिक उपायहरु अवलम्बन गर्नुपर्ने ।

जीर्णोद्धार पश्चात् पोखरीको पुरातात्विक एवं ऐतिहासिक वातावरण कायम राखी सौंन्दर्यीकरण गर्ने ।

रानीपोखरी स्थित चारैकुनामा निर्मित मन्दिरहरुलाई रानीपोखरीको हाताभित्र पार्ने र तिनको आवश्यक जीर्णोद्धार गरी परम्परागत सांस्कृतिक एवं धार्मिक कृयाकलापहरु सुचारु गर्ने ।

रानीपोखरी स्थित बालगोपालेश्वर मन्दिरमा संचालन हुने बार्षिक भाईटीका जस्ता कार्यक्रमहरुलाई जीवन्तता प्रदान गर्ने ।

रानीपोखरीको उत्तरतर्फ निर्माण भएका भवनहरु हटाई परम्परागत रुपमा संचालन भई आएको चांगुनारायणको कलश यात्रा विश्रामस्थल भएको ठाउंको सम्पदालाई मर्मत संभार गरी सोको सांस्कृतिक महत्वलाई अभिबृद्धि गर्ने ।

प्रतापमल्ल सहित दुई छोरा आरोहण भएको हात्तीमा पोतिएको सेतो चुना हटाई मौलिक स्वरुपमा कायम गर्ने ।

उक्त हात्तीको पूर्वतर्फ निर्मित शिव मन्दिरको सुधार एवं नित्यपूजा संचालनमा ल्याउने ।

वर्षादको पानी पोखरीमा संग्रह गर्ने प्रविधि सहितको स्रोत व्यवस्थापन गर्ने ।

नगरपालीकाद्वारा निर्मित भोटाहिटीको सबवेमा प्राप्तभएको पानीको स्रोत पोखरीमा परिचालन गर्ने सम्बन्धमा अनुसन्धान गर्ने ।


क्लिकमान्डु