नेप्सेले मनायो स्थापना दिवस, कस्ले के भने ?



काठमाडौं । अर्थ मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले धितोपत्रसम्बन्धी कारोबार गर्ने एकमात्र निकाय नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले समग्र अर्थतन्त्रको दिशानिर्देश गर्न महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।

नेप्सेको २५औँ वार्षिकोत्सव तथा रजत महोत्सवका अवरमा शनिवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री कार्कीले संस्थाले संस्थागत सुशासन तथा पारदर्शीतामा ध्यान दिनुपर्ने बताएका हुन् ।

नेप्सेलाई थप प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिँदै उनले क्षमता अभिवृद्धि, नवीन प्रविधिको प्रयोग, नागरिकमैत्रीलगायतका क्षेत्रमा विशेष ध्यान दिन निर्देशन दिए । अर्थमन्त्री कार्कीले सेवाको विविधीकरण गर्नुपर्नेमा समेत जोड दिएका थिए ।

कार्यक्रममा अर्थ सचिव शंकरप्रसाद अधिकारीले आव २०७३÷७४ मा १९ खर्ब रुपैयाँ बराबरको पूँजी बजार हुनु उत्साहजनक भए पनि अन्य मुलुकको तुलनामा सुधारका धेरै पक्ष रहेको बताए । उनले पूँजी बजारलाई थप विस्तार गर्दै गैरआवासीय नेपालीलाई पनि यस बजारमा प्रवेश गराउनुपर्नेमा जोड दिएका थिए ।

राजश्व सचिव शिशिरकुमार ढुंगानाले बजारलाई व्यवस्थित एवं पारदर्शी बनाएर अगाडि बढाउनुपर्ने बताउँदै स–साना पूँजीलाई पनि बजारमा ल्याउनुपर्नेमा जोड दिए ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्कीले बजारलाई प्रविधिमा आधारित बनाएकै कारण देशका ७७ जिल्लाबाट पूँजी बजारमा लगानी गर्न सकिने वातावरण बनेको दाबी गरे ।

कार्यक्रममा नेप्सेका अध्यक्ष लक्ष्मण न्यौपाने र प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले अनलाइन ट्रेडिङ प्रणाली लागू गरी बजारलाई विस्तार गर्ने नवीन सोचमा नेप्से अगाडि बढेको बताएका थिए । रासस


क्लिकमान्डु